Rumpum

Rumpum Advertisement

संघीय संसदका पदाधिकारीले लगाउने लोगोको मूल्य साढे पाँच हजार !

संघीय संसदका पदाधिकारीले लगाउने लोगोको मूल्य साढे पाँच हजार !

काठमाडौं, ३२ साउन । नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसद्को प्रतीक (लोगो) आइतबार संघीय संसद्का पदाधिकारीहरूलाई हस्तान्तरण गरिएको छ ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाललाई अद्यावधिक नक्सा प्रयोग गरिएको नयाँ लोगो हस्तान्तरण गरेका हुन् ।

११ जेठमा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकले संघीय संसद्का सदस्यहरूले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमाअनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णयअनुसार संघीय संसद् सचिवालयले नयाँ लोगो तयार गरेको हो ।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । लोगो बाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो ।

प्रतिलोगो ५ हजार ५ सय २७ रुपैंया खर्च लागेको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । संघीय संसद्का सदस्यहरूलाई समेत नयाँ नक्सा अंिकत लोगो आजैदेखि उपलब्ध गराइने छ ।