Rumpum

Rumpum Advertisement

विदेशमा अलपत्र नेपालीको उद्धार गर्न चार्टर उडान पुनः सुरु

विदेशमा अलपत्र नेपालीको उद्धार गर्न चार्टर उडान पुनः सुरु

काठमाडौं, ३२ साउन । कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि चार्टर उडान पुनः सुरु भएको छ ।

३० साउनबाट विदेशमा अलपत्र परेका नेपालीहरूलाई नेपाल ल्याउने सरकारको निर्णयको कार्यान्वयन भएको हो ।

नेपालका दुई वायु सेवा कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सहरूले नेपालीलाई स्वदेश फर्काउन चार्टर उडान गर्न लागेका हुन् ।

नेपाल एयरलाइन्सले १ देखि १५ भदौसम्म उद्धार उडान गर्ने तालिका सार्वजनिक गरेको छ भने हिमालय एयरलाइन्सले ३० साउनदेखि १४ भदौसम्मको उद्धार उडान तालिका सार्वजनिक गरेको छ ।

यसअधि सरकारले १ भदौदेखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान खोल्ने घोषणा गरेको भएपनि कोभिडको महामारी राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा तीव्र रूपमा फैलिएपछि १४ भदौसम्म व्यवसायिक उडान स्थगन गर्ने निर्णय गरेको थियो ।

विदेशमा अलपत्र परेका नेपाली ल्याउन उद्धार उडान भने नियमित हुनेछन् । सरकारले अबको उद्धार उडानमा दैनिक पाँच सय जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ ।

तीमध्ये २०० जनालाई सरकारले आफ्नै खर्चमा ल्याउने छ भने ३०० जना आफ्नै खर्चमा टिकट लिएर आउने छन् । स्वदेश फर्कने नेपालीलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइने छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को विवरणअनुसार २९ साउनेसम्म विदेशबाट ५० हजार ६६२ जना नेपाली स्वदेश फर्किसकेका छन् ।