पहिरोमा ज्यान गुमाउने परिवारलाई एक लाख २५ हजार राहत

सिन्धुपाल्चोक, ३२ साउन । सिन्धुपलान्चोकको लिदीमा गएको पहिरोमा परी ज्यान गुमाउने परिवारले तत्काल एक लाख २५ हजारको दरले पाउने भएका छन् ।

विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई एक लाखको दरले राहत रकम र काजकिरियाका लागि तत्काल २५ हजार उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिनेसमेत बैठकले निर्णय गरेको छ ।

एक लाख २५ हजार आर्थिक सहयोग

जुगल–२ लिदीका पहिरोपीडितका लागि तामाङ कलाकार संघले एक लाख २५ हजार आर्थिक सहयोग गरेको छ । संघले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

संघका अध्यक्ष सञ्जीव वाइबाका अनुसार संघको तर्फबाट एक लाख र व्यवसायी पूर्ण लिम्बूबाट २५ हजार सहयोग गरिएको हो ।

Loading...