Rumpum

Rumpum Advertisement

झापाका चार स्थानीय तहमा एक साता लकडाउन

झापाका चार स्थानीय तहमा एक साता लकडाउन

झापा, ३२ साउन । झापाको दमक नगरपालिकासहित चार स्थानीय तहमा एक साता लामो लकडाउनको घोषणा गरिएको छ । समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि आइतबारदेखि दकमसहति चार वटा स्थानीय तहमा लकडाउन गरिएको हो ।

मानिसहरूको हिँडडुमा प्रतिबन्ध लगाएर जोखिम कम गर्न दबाब आइरहेका बेला नगरपालिकाले आजदेखि दमकमा एक साता लामो लकडाउन गरेको हो ।

दुई दिनअघि दमकमा एकैसाथ छ जनामा संक्रमण देखिएपछि समुदायमा संक्रमण फैलिएको भन्दै सम्भावित जोखिम हुन नदिन लकडाउन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले बिहानको समयमा दुई घण्टा दूध डेरी, आपत्कालीन औषधिलगायतको आपूर्तिबाहेक सबै किसिमको सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

लकडाउन कार्यान्वयनको अनुगमनमा बिहानैदेखि सुरक्षा निकायको टोलीसहित सम्बन्धित सरकारी अधिकारीहरू निस्किसकेका छन् ।

दमक चौक, हाइवे सेतुमारी मार्ग, फाल्गुनन्द चौक, चिया दोकानसहित बजार क्षेत्र बिहानैदेखि सुनसान प्रायः देखिएको छ । पूर्वपश्चिम राजमार्गमा भने आंशिक सवारीसाधनहरू फ्याटफूटट सञ्चालनमा छन् ।

बजार क्षेत्रमा पसलहरू ठप्प छन् भने अत्यावश्यक सेवाका साधनहरू मात्रै चलिरहेका छन् । दमक उद्योग वाणिज्य संघ आफैंले स्वास्थ्य सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै तत्कालका लकडाउन गर्न सुझाव दिँदै पसल व्यवसाय बन्द गर्ने हिजो शनिवार नै निर्णय गरेको थियो ।

दमकसहित झापाका मेचीनगर, बुद्ध शान्ति र कमल गाउँपालिका गरी चार वटा स्थानीय तहले समेत आ–आफ्ना ठाउँमा एक साता लामो लकडाउन गरेका छन् ।