यी खानेकुराहरूबाट टाढा रहँदा पिनासबाट केही राहत हुन्छ

विराटनगर, ३२ साउन । साइनस भनेको टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरू हुन् ।

एलर्जी, चिसो, वा ब्याक्टेरियाको संक्रमणका कारण यी कहिलेकाहीँ भरिने हुँदा साइनोसाइटिस अर्थात् पिनास हुन सक्छ । पिनास हुँदा टाउको दुख्ने, सिँगान गनाउने, सुत्दा घुर्ने समस्या वा सास फेर्न गाह्रो हुने जस्ता विभिन्न जटिलताहरू सिर्जना गर्न सक्छ । गम्भीर अवस्थाहरूमा, साइनस संक्रमणले मस्तिष्क ज्वरो वा मेनिन्जाइटिस पनि निम्त्याउन सक्छ ।

सामान्यता चार प्रकारका साइनस समस्याहरू छन् । साइनस सामान्यतया चार हप्ता वा कम समयका लागि हुने गर्छ । साइनस गम्भीर हुँदै जाँदा चारदेखि आठ हप्तासम्म तथा आठ हप्ता वा सोभन्दा लामो समयसम्म रहन सक्छ । पिनास आफैंमा ठूलो जटिल रोग नभए पनि सामान्य कुरामा लापरबाही गर्दा निम्तिने रोग भएकाले यसबाट बच्नका लागि रोगीको लक्षण र समस्याको गम्भीरता आधारमा खानेकुरामा ध्यान दिन जरुरी हुन्छ ।

साइनस लक्षणहरू उत्पन्न गराउन सक्ने केही खाद्य पदार्थहरूबाट अलग रहनु नै यसको पहिलो उपचार हो । तारेको तथा भुटेको खानेकुरा, झोलिलो खाना, मासु तथा कडा मसलाहरूको सेवनले लक्षणहरूलाई बढाउन सक्छन् । विषेशगरी चीज, दही र आइसक्रिम जस्ता डेरी उत्पादनहरूबाट टाढा रहनु पर्छ । साथै, चिसो पेयहरू, अमिलो, चकलेट, चिनी र सोडायुक्त खाद्यपदार्थहरूले साइनसमा अधिक सिँगान उत्पादन गर्न सक्ने हुँदा यी खानेकुराबाट टाढा रहनु नै उपयुक्त हुन्छ ।

भिटामिन एयुक्त खानेकुराको नियमित सेवनले साइनस संक्रमणविरूद्ध लड्न मद्दत गर्छ । तातो पानी, सुपको सेवन, तथा बाफ लिँदा पिनासको समस्याबाट केही राहत पाउन सकिन्छ ।

Loading...