छोराबुहारीमा कोरोना पोजेटिभ : आमाको शव उठाउने कोही भएन

छिमेकी भन्छन् : शव व्यवस्थापन गर्न गाह्रो भयो

विराटनगर, ३२ साउन । विराटनगर महानगरपालिका–३ की ८७ वर्षीय बृद्धाको शनिबार राति घरमै निधन भयो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकी वृद्धाको शनिबार राति मृत्यु भए पनि उनको शव उठेको छैन ।

बृद्धाका छोरा र बुहारीमा कोरोना पोजेटिभ देखिएको छ । बृद्धामा कोरोना नेगेटिभ देखिएको छ । सँगै बस्ने नातिको कारोना जाँच रिपोर्ट आउन बाँकी छ ।

छोराबुहारीलाई नै संक्रमण देखिएका कारण घरमा छिमेकी र आफन्त प्रवेश गरेका छैनन् । शव उठाउने मान्छे नभएपछि वृद्धाको शव घरभित्रको पलङमै छ ।

बृद्धाका दुई छोरा छन् । संक्रमण पुष्टि भएपछि कान्छा छोरा मंगलबारयता आइसोलेसनमा छन् । जेठा छोरा काठमाडौंमा छन् । खतिवडा थरकी बृद्धाको स्यहारमा बसेकी वुहारीलाई पनि कोरोना पोजेटिभ देखिएको छ । बृद्धाको शव रुघेर बुहारी र नाति बसेका छन् ।

‘शव गनाउन सक्ने अवस्था आइसक्यो तर उठाउन सकिएको छैन,’ स्थानीय कुलमणि बरालले भने, ‘महानगरले शव घाटसम्म लगिदियोस्, हामी अन्त्येष्टी गर्छाैं ।’ बरालसहित केही स्थानीय घर बाहिर बसेका छन् । घरभित्र वृद्धाको शव, उनको बुहारी र नाति छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि उनका ५६ वर्षीय छोरालाई मंगलबार नै मारवाडी सेवा सदनको होल्डिङ आइसोलेसनमा भर्ना गरिएको छ । छोरा आइसोलेसनमा रहेकै अवस्थामा आमाको शनिबार राति ९ बजेतिर आफ्नै घरमा मृत्यु भएको थियो ।

छोरालाई आइसोलेनसमा भर्ना गरिएपछि ज्वरो आउनेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएकाले बुधबार बृद्धाको पनि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । मृत्युपछि कोरोना रिपोर्ट नेगेटिभ आएको हो । बृद्धा महिलाको स्याहारमा बसेकी बुहारीको रिपोर्ट भने पोजेटिभ आएको विराटनगर–३ का अध्यक्ष विनोदकुमार बस्नेतले बताए ।

अध्यक्ष बस्नेतका अनुसार बृद्धाको स्यहारमा बसेकी बुहारी र छोरामा कोरोना देखिएका कारण छिमेकीहरु पुगेका छैनन् । ‘छिमेकीहरु डराइरहेका छन्,’ उनले भने, ‘के गर्ने भनेर हामी सल्लाह गर्दैछौं ।’

संक्रमण पोजेटिभ देखिएका मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ । नेगेटिभ देखिए शव आफन्तलाई जिम्मा लगाइँदै आएको छ । तर मृतकका छोरामा कोरोना पोजेटिभ देखिएको र घरमा रहेकी बुहारीको रिपोर्ट पनि पोजेटिभ आएका कारण शव व्यवस्थापनमा समस्या भएको हो । संक्रमणको डरले छिमेकी शव उठाउन डराइरहेका छन् ।

Loading...