Rumpum

Rumpum Advertisement

विदेशमा अलपत्र ५१ हजारको उद्दार

विदेशमा अलपत्र ५१ हजारको उद्दार

विराटनगर, ३२ साउन । कोरोना महामारीका कारण विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार चार सय ४१ जनाको उद्दार गरिएको छ । गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको उद्दार गरिँदै आएको छ । विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत् उनीहरुलाई उद्दार गरिएको हो ।

दैनिक पाँच सयजनाको मात्रै उद्दार गर्ने सरकारी नीतिले थप समस्या

सरकारले गरेको दैनिकरुपमा अधिकतम् पाँच सय जनासम्मलाई मात्रै उद्दार गरेर विदेशबाट ल्याउने निर्णयले विदेशमा अलपत्र र समस्यामा परेका नेपाली कामदारलगायत अन्य विविध प्रयोजनले विदेश गएका तर उतै रोकिएका नेपालीको उद्दारमा थप ढिलाइ हुने भएको छ ।

संघअन्तर्गतको वैदेशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीका अनुसार मध्यपूर्वमा हजारौंको संख्यामा रहेका अलपत्र नेपाली, भिसा अवधि सकिएका तथा महामारीका कारण अन्य विभिन्न समस्यामा परेका नेपालीहरु यो निर्णयले थप निराश बनेका छन् । विशेषगरी मध्यपूर्वमा अलपत्र नेपाली यस निर्णयबाट बढी प्रभावित हुने केसीको भनाइ छ । उनले सरकारले यस विषयमा पुर्नविचार गर्नुपर्ने बताए । विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्दार गर्नुपर्नेमा पछिल्लो निर्णयले थप समस्या थप्ने भएकाले उद्दार अभियानलाई तीव्र गतिमा अघि बढाउन उनले सरकारलाई आग्रह गरे ।

यसअघि सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा तीन सय र वैदेशिक रोजागर कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी दुई सयजना गरेर जम्मा पाँच सय जनालाई मात्रै उद्दार गर्ने जनाएको थियो ।

२४६ जनाको शव नेपाल ल्याइयो

विदेशमा विविध कारण मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । १७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ । विदेशमा मृत्यु भएका ४९४ जनाको मध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ ।