लेखक अभिव्यक्ति र कल्पनाशीलतामा स्वतन्त्र हुनुपर्छ : रञ्जुश्री पराजुली

रञ्जुश्री पराजुली नेपाली साहित्य जगतमा सबैले सम्मानपूर्वक लिने नाम हो । उहाँको जन्म काठमाडौंको कालधारा भन्ने ठाउँमा वि.सं. २००५ मा भएको हो । नितान्त स्वास्थ्य कर्ममा समर्पित परिवारमा जन्मिएर हुर्कनुभएकी रञ्जुश्री आफू भने परिवारका अन्य सदस्यभन्दा अलग क्षेत्रमा लाग्नुभयो । उहाँको बाल्यकाल औसत नेपाली बालबालिकाको भन्दा असल रह्यो । स्वास्थ्य चिकित्सकको परिवारको सदस्यको रूपमा उहाँले कुनै विभेदविना नै अध्ययन गर्ने मौका पाउनुभयो । पद्मकन्या क्याम्पसमा स्नातकोत्तरसम्मको अध्ययन गरी सोही क्याम्पसमा प्राध्यापन गर्ने अवसर पाउनुभएकी पराजुलीले वि.सं. २०३९ सालमा दश थुँगा फूल बालकथा संग्रह प्रकाशन गरी नेपाली साहित्यमा बलियो उपस्थिति जनाउनुभएको हो । ‘हरियाली’ ‘मितेरी गाउँ’, चिम्पु र घडी’, ‘भुन्टी बाघ’ प्रिन्सेस काया’,‘अन्धविश्वास’,‘कथा वाटिका’ आदि उहाँका केही चर्चित बालपुस्तक हुन् । उहाँले हालसम्म दुई दर्जनभन्दा बढी बाल साहित्यका पुस्तकहरू लेखिसक्नु भएको छ । उत्कृष्ट बालसाहित्यकार पुरस्कार, रमेश विकल बालसाहित्य पुरस्कार, देवकुमारी थापा बालसाहित्य पुरस्कारलगायतका चर्चित पुरस्कार तथा सम्मानद्वारा सम्मानित रञ्जुश्री पराजुलीसँग कोशी अनलाइनका लागि रामप्रसाद पौडेलले गरेको छोटो कुराकानी :

यहाँको साहित्यलेखनको सुरूवातबारे पाठकहरू केही जान्न चाहन्छन्, केही बताइदिनुहुन्थ्यो कि !

श्रीमान्को अध्ययनको सिलसिलामा म स्कटल्यान्डको इडेनबरा पुगेँ । त्यहाँ बालबच्चाहरू हुर्काउनु पर्दा आफैंले कथाहरू कथ्नुपर्ने र उनीहरूलाई सुनाउनुपर्ने अवस्था भयो । त्यसरी कथिएका कथाहरू लेख्न थालेँ र कृतिकै रूपमा प्रकाशन भयो । पछि पद्मकन्या क्याम्पसमा अध्यापन गर्ने सिलसिलामा धेरै समालोचनाका कृतिहरू पढ्ने पढाउने गरियो । त्यही सिलसिलामा केही कृति तथा रचनाहरूको समालोचना गरेँ । यसरी मेरो साहित्य लेखनको सुरूवात भएको हो । र हालसम्म निरन्तर चलिरहेको छ ।

नेपाली नियात्रा साहित्यमा पुस्तक प्रकाशन गर्ने पहिलो नारी नियात्राकारका रूपमा यहाँको नाम अभिलेख भएको छ । यस्तो इतिहास रच्ने सौभाग्य त कमै मानिसले मात्रै पाउँछन् नि !

इतिहास रच्छु भनेर रचिने कुरा होइन रहेछ । २०४१ सालमा ‘विदेशमा बिताएका केही वर्ष’ नियात्रासंग्रह प्रकाशन गर्दा मैले कहिल्यै पनि सोचेको थिइनँ कि मेरो कृति महिलाद्वारा लिखित पहिलो नियात्रासंग्रह बन्नेछ । पछि लेखक गीता त्रिपाठीले यसबारेमा अनुसन्धान गर्नुभयो र विज्ञहरू बसेर मभन्दा पहिले नारीद्वारा लेखिएको नियात्रासंग्रह नभेटेपछि मेरो कृतिलाई पहिलो कृतिको रूपमा अभिलेख गर्नुभएको हो । मैले श्रीमान्को अध्ययन र कामलाई साथ दिने सिलसिलामा आफूले घुमेका युरोपका विभिन्न ठाउँहरूको बारेमा अरूलाई पनि जानकारी होस् भन्ने ध्येयले ज्ञान बाँड्न गरेको प्रयास नै ऐतिहासिक बन्न पुग्यो । परिश्रम गर्न अल्छी मान्नु हुँदैन, त्यो परिश्रम कहिल्यै खेर जाँदैन ।

‘विदेशमा बिताएका केही वर्ष’ऐतिहासिक कृति त बन्यो नै, पाठकहरूले चाहिँ कत्तिको रूचाउनु भयो ?

अत्यन्तै रूचाउनु भयो । त्यतिबेला अहिलेजस्तो परिवारैपिच्छे विदेश जाने चलन थिएन । विदेश जान ठूलै कसरत गर्नुपर्ने अवस्था थियो । अहिलेजस्तो इन्टरनेटको जमाना थिएन, सामाजिक सञ्जालहरू थिएनन् । सबै मान्छेको सूचनामा पहुँच थिएन । मान्छेहरूलाई अरू देशको विकास, भाषा, संस्कृति, चाडपर्वलगायतका विषयमा चासो थियो तर त्यो चासो मेटाउनका लागि उपयुक्त स्रोतहरूमा सहज पहुँच थिएन । मैले तिनै विषयहरूलाई समेटेर युरोपका केही मुलुकहरू घुम्दाको अनुभव कृतिमा समेटेको थिएँ । पाठकहरूले धेरै नै माया गर्नु भयो । आफू ती देशहरू घुम्न नसक्दा, पुस्तक पढेर भए पनि धेरै कुरा जान्ने अवसर पाएको भनेर कतिपय पाठकहरू मप्रति कृतज्ञ पनि हुनु भयो ।

अलिकति बालसाहित्यका कुरा गरौं, बालसाहित्य किन लेख्नुपर्छ ?

बालबालिकाको शारीरिक विकास उसले खाने खाना र अनुकूल हावापानीमा निर्भर गर्दछ । त्यसरी नै उसको मानसिक विकास उसलाई दिइने ज्ञान, समाजको बनोट र व्यवहार, पारिवारिक संस्कारलगायतका आधारमा हुने गर्दछ । बालबालिकाको मानसिक विकासका लागि उनीहरूले पढ्ने सामग्रीहरूको पनि ठूलो भूमिका हुने गर्दछ । अहिले उनीहरू जेजस्तो वातावरणमा हुर्किन्छन् वा जस्तो शिक्षा पाएर हुर्किन्छन् भविष्यमा हाम्रो समाज त्यस्तै हुने हो । त्यसैले पनि समाजलाई ठीक बाटोमा डोहो¥याउने किसिमको साहित्य लेखिनुपर्छ । बाल मस्तिस्क नयाँ कुरा लिनको लागि सधैं तयार हुने भएकोले बालसाहित्य लेख्नुपर्छ र बालबालिकाहरूले त्यस्ता साहित्यको अध्ययन गर्ने अवसर पाउनुपर्छ ।

लेखिएका कृतिहरू प्रकाशन गर्न कत्तिको गाह्रो छ ?

यो व्यक्तिअनुसार फरक हुने कुरा भयो । आर्थिक स्रोतमा सहज पहुँच हुने वा प्रकाशनगृहसँग नजिकको सम्बन्ध भएकाहरूका लागि प्रकाशन गर्न कुनै अप्ठ्यारो हुने कुरा भएन । तर जसको आर्थिक अवस्था पनि कमजोर छ र प्रकाशनगृहसँग पनि नजिकको सम्बन्ध छैन, उसलाई लेख्नभन्दा प्रकाशन गर्न गाह्रो हुन्छ । खासगरी महिला लेखकहरूको सवालमा यो झनै गाह्रो कुरा हो ।

कृति प्रकाशन गर्नु महिलाहरूका लागि झन गाह्रो कुरा हो भन्नुभयो, महिलाहरू पनि पुरूषहरू समान छन् नि, अहिले त किन गाह्रो हुनु र ?

हेर्नुहोस्, नेपाली समाजको बनोट नै पितृसत्तात्मक छ । जसले जे भने पनि आर्थिक स्रोतमा महिलाको पहुँच स्थापित हुन सकेको छैन । राजनैतिक आरक्षणको सवालमा महिला–पुरूष समान देखाइएको हुनसक्छ, व्यवहारतः महिला–पुरूष समान हुन अर्को युग कुर्नु पर्ला । आर्थिक स्रोतमा पुरूषकै नियन्त्रण भएका कारण महिलाले पुस्तक लेखेर छपाउनका लागि श्रीमान्को अनुग्रह पाउनुपर्ने हुन्छ । श्रीमान्ले साथ दिएन भने उनीहरू आफ्नो मनले कृति छपाउने सामथ्र्य राख्दैनन् । कि त एकल वा स्वतन्त्र नारी हुनुप¥यो । अर्को कुरा श्रीमती समाजमा चिनिँदा खुसी हुने श्रीमान्हरू निकै कम छन् हाम्रो समाजमा । श्रीमतीलाई घरबाहिर पठाउनु नपरोस् भनेर पनि कतिपय श्रीमान्ले क्षमता हुँदाहुँदै पनि श्रीमतीको कृति छाप्ने कुरामा मुट्ठी खोल्दैनन् ।

यहाँको टाटेपाङ्ग्रे बालकथा संग्रहले साझा पुरस्कार प्राप्त गरेको थियो । लेखकलाई पुरस्कार किन चाहिन्छ ?

हरेक मानिसलाई हौसला र प्रेरणा चाहिन्छ । हामीले हाम्रा बालबालिकालाई कुनै काम गरेवापत स्यावास् मात्रै भन्यौं भने पनि उसको जीवनमा ठूलो उर्जा प्राप्त हुन्छ । उसले अरू असल काम गर्न थाल्छ । मैले त अझै गर्नुपर्ने रहेछ भन्ने सोच्न थाल्छ । फलस्वरूप, उसको जीवनमा सकारात्मक सोचको विकास हुन्छ र लगनशील हुन थाल्छ । पुरस्कार पनि लेखकको लागि स्यावासी नै हो । पुरस्कारले लेखकलाई थप जिम्मेवार हुन, स्तरीय लेख्न र निरन्तरता दिन प्रेरणा दिन्छ । त्यसैले पुरस्कार चाहिन्छ । तर पुरस्कार मलाई चाहियो, मलाई देऊ भन्ने कुराचाहिँ होइन । यो सत्कर्मको प्रतिफल हो र त्यस्तै हुनुपर्छ ।

अलिकति प्रसंग फेरौं, तपाईंलाई मनपर्ने बाल साहित्यकारहरू को–को हुन् ? तपाईंको सिर्जनामा गहिरो प्रभाव पार्ने किताब अथवा लेखक को हो ?

लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, कृष्णप्रसाद पराजुली, रमेश विकलका प्रायः बालकृतिहरू मेरा लागि प्रेरणाका स्रोत हुन् । उहाँहरूको कृति पढेर नै मैले मेरो लेखनकला तिखार्न पाएको हुँ । साथै अहिलेको बालसाहित्यको विकासप्रति सचेत, आधुनिक विश्व बालसाहित्यको गहन अध्ययन गर्ने, नेपाली बालसाहिय लेखनमा तल्लीन सबै बालसाहित्यकारहरु मलाई मनपर्छ ।

पछिल्लो समय राजनीतिले हरेक क्षेत्रलाई गाँजेको छ । साहित्य पनि राजनीतिको प्रभावबाट अछुतो रहन सकेको छैन । किन त्यस्तो भएको होला ?

मेरो कर्म लेखन हो, मलाई राजनीति पटक्कै मन पर्दैन । म राजनीतिमा चासो पनि राख्दिन । यस विषयमा मैले बोलेँ भने अनेक कुरा बोल्छु होला, त्यसैले यस प्रश्नको जवाफचाहिँ दिन सक्दिन कि भन्ने लागेको छ मलाई । तर पनि साहित्य साहित्यकै रूपमा सुन्दर देखिन्छ, राजनीतिको छायाँ नपर्दा नै राम्रो ।

मैले राजनीतिको विषयमा यहाँलाई बोल्न बाध्य पार्न खोजेको होइन, तर पार्टीको झण्डा उठाउन नसक्नेहरू स्थापित हुन निकै कठिन छ भन्छन् नि !

त्यसो त समाजसेवामा समेत राजनीतिक संरक्षण नपाएकाहरूलाई अप्ठ्यारो पर्न थालेको छ । साहित्यमा पनि एकदम सक्षम, राम्रा लेख्नेहरूसमेत सँधै ओझेलमा परेको देखिन्छ, सायद त्यसैको सिकार भएको हुन सक्छ । नियुक्ति, पुरस्कार, प्रकाशनलगायतका सवालमा लेखक राजनीतिक कोपभाजनको सिकार हुन सक्छ । तर लेख्ने कुरामा राजनीतिले कुनै प्रभाव पार्न सक्दैन । लेखक अभिव्यक्तिमा, कल्पनाशीलतामा स्वतन्त्र हुनुपर्छ ।

पितृसत्तात्मक समाज, त्यसमाथि पनि महिला, साहित्यमा लागिरहन सजिलो छ र ?

अवश्य छैन । तर पनि धन्य हुन् ती महिला साहित्यकर्मीहरू जसले घरका अनेक कामधन्दा सकेर सिर्जनाका लागि समय छुट्याउँछन् । उनीहरूको लगनशिलतालाई हामीले मान्नुपर्छ । घरको काम आफैंमा एउटा संसार थामेसरह हो । बच्चाहरूको हेरचाह, श्रीमान्को ख्याल, पाहुनाहरूको सत्कार, सासुससुराको स्याहारसुसार, घरको सरसफाइ सोच्दा मात्रै सामान्य हो । गर्नेहरूका लागि यी कामहरू महाभारत नै हुन् । यी सबै कुरा सम्हालेर, फेरि आफूभित्रको सिर्जनाशक्ति जगाउनु र त्यसलाई अभिव्यक्त गर्ने काम गर्नु वास्तवमै साहसी काम हो । त्यसैले म महिलाहरूको सिर्जनालाई सधैं सम्मान गर्छु ।

Loading...