Rumpum

Rumpum Advertisement

अमेरिकामा हुलाकमार्फत हुने भनिएको मतदानका बारेमा दुई थरी कुरा

अमेरिकामा हुलाकमार्फत हुने भनिएको मतदानका बारेमा दुई थरी कुरा

विराटनगर, ३१ साउन । कोरोना भाइरस संक्रमणका कारण आगामी नोभेम्बर ३ मा अमेरिकामा हुने राष्ट्रपति पदको निर्वाचनमा अधिकांश मतदाताले हुलाकमार्फत मतदान गर्ने सम्भावना बढेको छ ।

तर उक्त मतदान प्रक्रियाका बारेमा अमेरिकी अधिकारीहरुबीचनै मत बाझिएको छ । यसको समर्थन र विपक्षमा दुई थरी कुरा बाहिर आएका छन् ।

योसँगै अमेरिकाको हुलाक सेवा (युएसपिएस) ले हुलाक मार्फत गरिएका दशौँ लाख मतहरु चुनावको दिन गणनाका लागि समयमा पुग्न नसक्ने जनाएको छ । युएपिएसले गएको महिना देशभर पठाएको पत्रमा केही समयसीमाहरु हुलाक सेवाको वितरण मापदण्डमा मेल नखाएको उल्लेख गरेको छ ।

आलोचकहरुले वितरण गति ढिलो गर्नु वा बनाउनुमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक युएसपिएसका नयाँ प्रमुखको हात रहेको आरोप लगाउँदै आएका छन् । डेमोक्र्याटिक पार्टी तथा उसका उम्मेदवार जो बाइडेनले हुलाक सेवालाई चुनावका लागि आवश्यक पर्ने पर्याप्त बजेट छुट्याउन र हुलाक मार्फत हुने मतदानको दायरा अति फराकिलो बनाउनु पर्ने बताउँदै आएका छन् ।

तर राष्ट्रपति ट्रम्प भने त्यसको विपक्षमा रहेका छन् । उनले हुलाक मार्फत हुने मतदानमा धाँधलीको सम्भावना हुने भन्दै केही समयअघि चुनावकै मिति सार्नेसम्मको प्रस्ताव गरेका थिए ।

ट्रम्पले हुलाक मार्फत हुने मतदानले डेमोक्र्याटिक उम्मेदवार बाइडेनलाई फाइदा गर्ने भएकाले त्यसलाई सक्दो कम गर्ने प्रयास गरेको स्रोतहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विज्ञहरु भने हुलाक मार्फत हुने मतदानमा दखल दिने वा त्यसमा धाँधलीको सम्भावना नरहेको बताउँछन् । ट्रम्प आफै र अमेरिकी सैनिकले हुलाक मार्फत मतदान गर्दै आएका छन् ।

ट्रम्प प्रशासनको गम्भीर आलोचना गर्दै पूर्व राष्ट्रपति बाराक ओबामाले ट्वीट गर्दै हुलाक मार्फत हुने मतदानका विपक्षमा उभिएर राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावलाई कमजोर बनाउन खोजेको आरोप लगाएका छन् । ओबामाले ट्रम्प प्रशासन कोरोना भाइरस भन्दा पनि मतदान दबाउने प्रयासमा लागेको अर्को आरोप लगाए ।