एथ्लेटिकोलाई हराउँदै लेइपजिग च्याम्पियन्स लिगको अन्तिम चारमा

एजेन्सी, ३० साउन । जर्मन क्लब आरबी लेइपजिग युरोपियन च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको दोस्रो क्वार्टरफाइनल खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै लेइपजिगले सेमिफाइनलमा स्थान बनाएको हो ।

पोर्चुगलको राजधानी लिस्बोनस्थित जोसे अल्भालाडे स्टेडियममा भएको खेलमा लेइपिजलाई जिताउन डेनी ओल्मो र टेलर अडामासले समान एक–एक गोल गरे । एथ्लेटिकोका जाओ फेलिक्सले एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा लेइपजिगले सुरुआती अग्रता बनाएको थियो । ५०औं मिनेटमा ओल्मोले गोल गर्दै जर्मन क्लबलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ७१औं मिनेटमा एथ्लेटिकोले पेनाल्टीको मौका पाएको थियो, जसमा फेलिक्सले गोल गर्दै एथ्लेटिकोलाई बराबरीमा फर्काए ।

तर, खेलको ८८औं मिनेटमा अडामासले गोल गरेपछि लेइपजिगले सेमिफाइनलमा स्थान बनायो ।

यससँगै लेइपजिगले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग भेट पक्का गरेको छ । बुधबार राति अटलान्टाविरुद्ध २–१ गोलको जित निकाल्दै पीएसजीले अन्तिम चारमा स्थान बनाइसकेको छ ।

यसअघि क्वार्टरफाइनलमा एथ्लेटिकोले साविकको विजेता लिभरपुललाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो भने लेइपिजले साविकको उपविजेता टोटनह्याम हटस्परलाई हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो ।

Loading...