विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, २९ साउन । विराटनगरको कोशी अस्पतालमा उपचारत एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आइसोलेशनमा भर्ना भएका सिराहको विष्णुपुर गाउँपालिका-१ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

बिहीबार गम्भीर अवस्थामा भर्ना भएका पुरुषको राति करिब ८ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

उनका अनुसार मृतक पुरुषमा श्वासप्रश्वास र निमोनिया थियो । उनको शरीरमा रगतको कमी पनि देखिएको उनले बताए ।

मृतककाे बिहीबार दिउँसो स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

गम्भीर अवस्थाका पुरुषलाई विपी कोइराला स्वास्थ्य विज्ञान धरान पठाउने तयारी थियो । तर, धरानले बेड खाली नरहेको बताएपछि कोशीमा राखिएको थियो ।

बिहीबार नै विराटनगरका एक युवकको आइसोलेशनमा मृत्यु भएको थियो । तर उनको रिपोर्ट भने नेगेटिभ आएको डाक्टर दासले जानकारी दिए ।

यो कोरोना संक्रमणबाट काेशी अस्पतालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

यसअघि कोशी अस्पताल विराटनगर–९ का दुई जना, विराटनगर– ३ र ५ का एक–एक जनाको मृत्यु भएको थियो । त्यस्तै रंगेली नगरपालिका ८ एक जनाको मृत्यु भएको थियो ।

Loading...