‘लेवान्डोस्की मेस्सीभन्दा उत्कृष्ट’

एजेन्सी, २८ साउन । जर्मन क्लब बायर्न म्युनिखका पूर्वस्टार लोथर मथासले बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीभन्दा रोबर्ट लेवान्डोस्की उत्कृष्ट खेलाडी भएको बताएका छन् ।

जर्मन लिजेण्ड मथासले ‘बाइल्ड’सँगको कुराकानीका क्रममा पोल्याण्डका खेलाडी लेवान्डोस्की अर्जेन्टनी स्टार मेस्सीभन्दा उत्कृष्ट भएको बताए ।

च्याम्पियन्स लिगअन्तर्गत शुक्रबार मेस्सी र लेनान्डोस्कीले प्रतिस्पर्धा गदैछन् । पोर्चुगलको राजधानी लिस्बोनमा हुने क्वार्टरफाइनलको खेलमा बार्सिलोना र बायर्नले खेल्न लागेका छन् । यस खेलमा जित निकाल्दै दुवै टोली सेमिफाइनलमा प्रवेश गर्ने योजनामा हुनेछन् भने दुवै टिमका स्टारहरू आफूलाई बलियो साबित गर्ने दाउमा हुनेछन् ।

यसकारण बार्सा र बायर्नबीचकाे खेललाई प्रतिष्ठाकाे लडाइँका रूपमा पनि हेरिएकाे छ । यस खेलमा मेस्सीले विश्वकै उत्कृष्ट लेवान्डोस्कीको सामना गर्न लागेको सन् १९९० को विश्वकप विजेता मथासले प्रतिक्रिया दिएका छन् ।

मथासले भने, ‘मेस्सीले यो शुक्रबार विश्वकै उत्कृष्ट रोबर्ट लेवान्डोस्कीको सामना गर्दैछन् । लेवान्डोस्की उत्कृष्ट फरवार्ड मात्र नभएर विश्वकै उत्कृष्ट खेलाडी हुन् ।’

‘अहिलेको बार्सिलोना पहिलेजस्तो छैन । पक्कै पनि उनीहरूसँग मेस्सी छन् । मेस्सी एक सक्षम र प्रतिभाशाली छन् । तर, उनी एक्लै बायर्नका लागि पर्याप्त छैनन् । बार्सिलोनासँग मलाई डर लाग्दैन’, उनले थपे ।

लेवान्डोस्की च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको दौडमा अगाडि छन् । उनले १३ गोल गरेका छन् । यता, मेस्सीले भने यो सिजनको च्याम्पियन्स लिगमा मात्र तीन गोल गरेका छन् । तथापि, दुवैले बराबरी चार असिस्ट गरेका छन् ।

लेवान्डोस्कीले सबै प्रतियोगिता गरी बायर्नका लागि ४४ खेलमा ५३ गोल गरेका छन् । बुन्डेसलिगाको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निभाएका उनले घरेलु लिगमा ३१ खेलबाट ३४ गोल गरेका छन् ।

मेस्सीले भने यो सिजन ३१ खेलबाट ४३ गोल गरेका छन् । तथापि, यो सिजन बार्सिलोनाले चीर प्रतिद्वन्द्वी क्लब रियल मड्रिडलाई ला लिगाको उपाधि सुम्पिएको थियो ।

Loading...