क्वारेन्टाइनमै करेन्ट लागेर एक महिलाको मृत्यु, आफन्त आन्दोलित

कञ्चनपुर, २८ साउन । कञ्चनपुरमा क्वारेन्टाइनमै करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–६ मौरीफाँटाकी २३ वर्षीया युवती राधादेवी ओडको क्वारेन्टाइनमै करेन्ट लागेर मृत्यु भएको हो ।

मंगलवार मात्रै गौरीफण्टा नाका हुँदै नेपाल भित्रिई गाउँकै क्वारेन्टाइनमा बसेकी राधाको नुहाइधुवाई गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार मौरीफाँटामा रहेको महाकाली माविको क्वारेन्टाइनमा विद्युत् जोड्न टाँगिएको अव्यवस्थित तारबाट करेन्ट लागेर घाइते भएकी राधाको उपचारका क्रममा मृत्यु भएको हो ।

क्वारेन्टाइनको उचित व्यवस्थापन नहुँदा राधाले ज्यान गुमाउनु परेकोले आवश्यक छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै बुधवार गुलरियामा प्रदर्शनसमेत भएको छ ।

प्रदर्शनमा सहभागीहरूले मृतकका परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरेका छन् । प्रदर्शनकारीहरूले कृष्णपुर नगरपालिकाको ६ नम्बर वडा कार्यालय र गुलरिया बजारसमेत बन्द गराएका छन् ।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमालले क्वारेन्टीनमा करेन्ट लागेर महिलाको मृत्यु भएको घटना प्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई नगर कार्यपालिकाबाट निर्णय गरी राहत दिइने बताएका छन् ।

Loading...