Rumpum

Rumpum Advertisement

मालपोतका ६ कर्मचारीसहित १५ जनामा कोरोना संक्रमण

मालपोतका ६ कर्मचारीसहित १५ जनामा कोरोना संक्रमण

उदयपुर, २७ साउन । मालपोत कार्यालय उदयपुरका ६ जना कर्मचारीसहित १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । मंगलबार मालपोतका ६ कर्मचारीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

१३ दिनअघि मालपोत कार्यालयका खरिदारमा कोरोना देखिएपछि गरिएको पिसीआर परीक्षणबाट उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो । कोशी अञ्चल अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट कार्यालयका कार्यालय सहयोगी, कम्युटर अपरेटरदेखि लिएर नायव सुब्बासम्मलाई संक्रमण देखिएको हो ।

१३ दिनअघि कोरोना देखिएका ती कर्मचारीको कन्ट्रयाकट्रेसिनका आधारमा पिसिआर परीक्षण गर्दा त्रियुगा नगरपालिका ९ का उनका ६२ वर्षीया आमा र ३० वर्षीया श्रीमतीमा पनि कोरोना देखिएको प्रमुख सुवेदीले जानकारी दिए ।

त्यस्तै विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट बेलका नगरपालिकाका एकै परिवारका चारसहित सात जनामा कोरोना पोजेटिभ देखिएको छ ।

उनीहरू सबै एकै वडाका हुन् भने एक जना लघुवित्तका कर्मचारी हुन् ।

दुई साता अघि बेलका न.पा. ९ बजारका दुई व्यापारीलाई कोरोना देखिएपछि उनीहरूको कन्ट्याकट्रेसिङका आधारमा गरिएको परीक्षणबाट एकै परिवारका श्रीमान, श्रीमती, छोरी गरी चार जनामा कोरोना देखिएको हो । त्यस्तै २८ वर्षीय युवा सहारा लघुवित्तका कर्मचारी हुन् ।

जिल्लामा पहिलोपटक एउटै कार्यालयका ठूलो संख्यामा कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएलगत्तै कार्यालयले १५ दिनका लागि आफ्ना सबै सेवा बन्द गरेको सूचना जारी गरेको छ ।

उदयपुरमा हालसम्म कोरोना संक्रमितको संख्या १०४ जना पुगेको छ । त्यसमध्ये ३० जना महिला हुन् ।

त्रियुगा नगरपालिकामा ५९ जना, बेलका नगरपालिकामा ३१ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।