birat ribon

नुवाकोटमा सेना परिचालन, निषेधाज्ञा क्षेत्र बढाइयो

Neuro
नुवाकोटमा सेना परिचालन, निषेधाज्ञा क्षेत्र बढाइयो

नुवाकोट, २७ साउन । नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको संक्रमण थप फैलिएसँगै आजदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ । निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा बाहिरको दुप्चेश्वर गाउँपालिकामा समुदायमा कोरोना रोगको संक्रमण फैलिएको पुष्टि भएसँगै आजदेखि आठ दिनका लागि थप क्षेत्रमा निषेधाज्ञा लगाएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

cura insider

उनका अनुसार आजदेखि निषेधाज्ञा लागू भएको क्षेत्रमा दुप्चेश्वर गाउँपालिकाको सबै स्थान, तादी गाउँपालिका–२, ३, ४ र ५, पञ्चकन्या गाउँपालिका–४ र ५, शिवपुरी गाउँपालिका–१, २, ३, ४ र ५ एवम् तारकेश्वर गाउँपालिका–२, ४, ५ र ६ छन् ।

नुवाकोटमा दुप्चेश्वर गाउँपालिकामा हिजो वडाध्यक्ष, बैंकका सुरक्षाकर्मीसहित चारजनामा कोरोना रोगको संक्रमण देखिएसँगै यसअघि लगाइएको निषेधाज्ञाको क्षेत्र बढाउन जिल्ला संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको हो ।

हालसम्म नुवाकोटमा कोरोना संक्रमितको संख्या ६१ पुगेको छ । जिल्लाको विदुर नगरपालिका–८ र दुप्चेश्वर गाउँपालिका–६ मा समुदायमा कोरोनाको संक्रमण फैलिएको स्थानीय प्रशासनले जनाएको छ ।

नुवाकोटमा यही २५ साउनदेखि गतेदेखि विदुर नगरपालिकासहित लिखु र सूर्यगढी गाउँपालिकाको सबै क्षेत्र र बेलकोटगढी नपा, ककनी, शिवपुरी र पञ्चकन्या गापाको केही वडामा १० दिनका लागि निषेधाज्ञा कायम गरिएको थियो ।

आजदेखि थप भएको निषेधाज्ञाको पालना कडाइँका रुपमा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय भएको छ । रासस

jackson ribon