आईपीएल प्रायोजन गर्ने प्रस्तावको तयारीमा पतञ्जली

एजेन्सी, २६ साउन । भारतीय योग गुरु बाबा राम देव इण्डियन प्रिमियर लिग (आईपीएल) प्रायोजन गर्ने तयारीमा लागेका छन् ।

चिनियाँ स्मार्टफोन कम्पनी भीभोले प्रायोजन सम्झौता रद्द गरेसँगै यसपालि आयोजना हुन लागेको आईपीएल प्रायोजकविहीन भएको छ ।

यस वर्षको आईपीएल आयोजनाको लागि रिक्त रहेको प्रायोजकको स्थानमा पतञ्जलीले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) सामु प्रस्ताव पेश गर्न लागेको पतञ्जलीका प्रवत्ता एसके टीजारावालाले बताएका छन् ।

प्रायोजन तयारीको विषयमा बोल्दै टीजारावालाले भनेका छन्, ‘यस वर्षको आईपीएल प्रायोजन गर्न तयारीमा छौं किनकि हामी पतञ्जलीलाई एक ब्राण्डका रूपमा विश्वसामु चिनाउन चाहन्छौं ।’

विदेशी उत्पादन प्रयोग बन्द गर्दै भारतमै उत्पादित वस्तुको प्रयोग बढाउने अभियान भारतमा तीव्र भइरहेको अवस्थामा पतञ्जलीले आईपीएल प्रायोजन गर्नुले धेरै सकारात्मक सन्देश प्रवाह गर्ने अर्थविद् बताउँछन् ।

२०१८ मा बीसीसीआई र भीभोबीच पाँच वर्षको लागि चार सय ४० करोडको सम्झौता भएको थियो । तर भारत–चीन सीमाविवादका क्रममा भिडन्तमा परी भारतीय सैनिकको मृत्यु भएसँगै जुन महिनाबाट भारतमा चिनियाँ सामग्री प्रयोगमा प्रतिबन्ध अभियान सुरु भएको थियो ।

यही परिस्थितीलाई मध्यनजर गर्दै भिभोले आफ्नो पाँच वर्षे प्रायोजन सम्झौता रद्द गरेको थियो । भारतीय मिडियाका अनुसार अर्काे वर्ष भने पुनः भिभो आईपीएलको प्रायोजन बन्न सक्नेछ ।

Loading...