राहत र पुनर्स्थापनाको व्यवस्था गर्न पहिरोपीडितको माग

सिन्धुपाल्चोक, २६ साउन । जुगल गाउँपालिका–२ स्थित सानो नाम्फाका पहिरो विस्थापितले तत्काल राहत र पुनर्स्थापनाको पहल गरिदिन माग गरेका छन् । गत असार २६ गते राति गएको भीषण पहिरोबाट पूर्णरूपमा विस्थापित २९ घरपरिवारले आफूहरूलाई स्थानीय सरकारले समेत बेवास्ता गरेको गुनासो गर्दै तत्काल राहतको माग गरेका हुन् ।

हिजो अनुगमन र सहजीकरणका लागि पुगेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माधव सापकोटासहितको पार्टी प्रतिनिधिसँग स्थानीयवासीले आफ्नो समस्या पोखेका हुन् । पहिरोपछि सानो नाम्फाका २९ घरपरिवार ठूलो नाम्फामा अर्काको बारीमा अस्थायी टेन्ट हालेर बसेका छन् । त्यहाँ पनि सञ्चगाउँको ठूलो ढुङ्गा जुनसुकै बेला खसेर समस्या हुन सक्ने भन्दै विस्थापित चिन्तित छन् ।

२०७२ सालमा गएको भूकम्पले बस्ती पूरै क्षति भएपछि सरकारले दिएको राहतको सदुपयोग गर्दै उनीहरूले घर बनाएका थिए । घरमा बसेको वर्ष बित्न नपाउँदै बस्तीको दुवैतर्फ पहिरो गएपछि र घरहरूको बीचबीचमा समेत चिरा परेपछि उनीहरू थातथलो छोड्न बाध्य भएका हुन् । हिजो भएको छलफलमा विस्थापितले तत्कालका लागि राहतका साथै स्थायी बसोबासको व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेका हुन् । उनीहरूले हाइड्रोपावरले समेत सुरुङ खन्ने क्रममा लापरबाही गरेको दाबी गर्दै क्षतिपूर्तिको माग गरे ।

छलफलमा नेता सापकोटाले आफूहरू हरेक विपत्तिमा जनतासँगै रहेको स्पष्ट गर्दै यस पटक पनि सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता बताए । उनले सञ्चगाउँको ठूलो ढुङ्गा व्यवस्थापन गरिने बताउँदै हाइड्रोपावरसम्बद्ध अधिकारीहरूसँग पनि छलफलका लागि सहजीकरण गरिने बताए । पीडितको मागलाई सम्बोधन गर्न हाइड्रोपावर र सरकारसँग छिट्टै छलफल गरिने प्रतिबद्धता दोहोर्‍याए । रासस

Loading...