Rumpum Advertisement

कब्जियत, शरीरमा हुने विभिन्न रोगहरूको कारण हुन सक्छ

Neuro
कब्जियत, शरीरमा हुने विभिन्न रोगहरूको कारण हुन सक्छ

विराटनगर, २६ साउन । पाचन प्रक्रियामा गडबडीका कारण अधिकांश मानिसहरूलाई कब्जियतको समस्या हुने गर्छ ।

परिवर्तित जीवनशैली र खराब खानपानका कारण पछिल्लो समय यो समस्या आम बन्दै गएको छ । पेट र शरीरलाई स्वास्थ्य राख्नका लागि एक व्यक्तिले दिनको एक पटक दिसा गर्नु पर्छ । तर, एक हप्तामा तीन पटकभन्दा कम तथा पीडादायक दिसा निष्कासन हुने अवस्थालाई कब्जियत भएको भनिन्छ । कब्जियत क्षणिक, जटिल र लामो समय रहने गरेर तीन प्रकारका हुन्छन् ।

नियमितरुपमा दिसा नआउनु कब्जियतको मुख्य लक्षण हो । दिसा गर्ने क्रममा गाह्रो हुनु, पेट दुख्नु, एकदम कडा, कालो र कस्सिएको दिसा आउनु, दिसामा रगत आउनु, पछाडिपट्टिको मांशपेशी दुख्नु, टाउको दुख्नु, छाति पोल्नु, भोक नलाग्नु, रिँगटा लाग्नु, थाकेको महसुस हुनु कब्जियतका लक्षण हुन् । कब्जियतलाई भयानक रोगहरूको कारण पनि मानिन्छ ।

कब्जियतको कारणले मोटोपन, ग्यास्ट्र्रिक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल बवेल सिन्ड्राम, एसिडीटी, एपेन्डिसाइटिस, अपच, गुदद्वार खस्नु, डकार आउनु जस्ता पेटसम्बन्धी विभिन्न समस्याहरू निम्त्याउन सक्छ । साथै, लामो समयसम्म वा पटक–पटक भएको कब्जियतका कारण उच्च तथा निम्न रक्तचाप, मधुमेह, कोलेस्टेरोल, युरिक एसिड, रगतमा हुने तत्वहरू घटबढ, हार्मोनको मात्रा घटवड मांसपेसी तथा नसा–नाडीहरू कमजोर हुने, जोर्नी दुख्ने, हड्डी खिइने, सुन्निने, रक्तअल्पता जस्ता समस्याहरू आउन सक्छ ।

कब्जियतको कारण अनुहारमा चाया, पोतो, डन्डिफोर आउने तथा छालामा समस्या देखिने, प्रतिरक्षा प्रणालीको कार्यक्षमता गडबड हुन गई सर्दीले सताइरहने, ज्वरो, खोकी बल्झिने, महत्वपूर्ण अंगहरूको कार्यक्षमता घट्ने तथा चिन्ता, खिन्नता, उदासिनता, अनिद्रा, यौनशक्तिको क्षय जस्ता मानसिक समस्याहरू देखा पर्न सक्छ ।