राष्ट्रिय फुटबल टोलीको कोरोना परीक्षण (फोटोफिचर)

काठमाडौं, २५ साउन । फिफा विश्वकप छनोट र एशियन कप छनोटका लागि बन्द प्रशिक्षणमा डाकिएका राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाको कोरोना परीक्षण गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार लगनखेलस्थित पाटन अस्पतालमा आज पहिलो चरणमा ११ खेलाडीसहित एक प्रशिक्षक, एक फिजियो र एन्फा होस्टलका १२ कर्मचारीसहित २५ जनाको कोरोना परीक्षण गरिएको हो ।

कोरोना परीक्षण गर्ने खेलाडीमा विशाल राई, रन्जीत धिमाल, मिक्चेन तामाङ, रवि पासवान, दर्शन गुरुङ, विमल राना, दीप कार्की, दिलेन लोप्ताङ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटी रहेका छन् ।

त्यसैगरी फिजियोमा आविष्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको पनि परीक्षण गरिएको छ ।

बाँकी खेलाडी र अफसियलको कोरोना परीक्षण भने भोलि गर्ने एन्फाले जनाएको छ । भोलि हुने खेलाडीमा विक्रम लामा, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुनिल वल, रोहित चन्द, अभिषेक रिजाल, किरण चेमजोङ, विकेश कुथु, विशाल श्रेष्ठ, सरोज दाहाल, अनन्त तामाङ र अजित भण्डारी छन् ।

त्यसैगरी तेज तामाङ, अमित तामाङ, एरिक बिष्ट, अन्जन बिष्ट, आशिष लामा, विकास खवास, नवयुग श्रेष्ठ, सुमन अर्याल, शेशेहाङ आङ्दम्वे, जर्ज प्रिन्स कार्की र भरत खवासको कोरोना परीक्षण भोलि हुने एन्फाले जनाएको छ ।

जुन ५ मा एशियाली फुटबल महासंघ (एएफसी) ले कतारमा हुने फिफा विश्वकप २०२२ तथा चीनमा हुने एसियन कप २०२३ को छनोट खेलका लागि नयाँ मिति तय गरेपछि एन्फालाई राष्ट्रिय टिमको प्रशिक्षण थाल्न दबाब परेको थियो ।

विश्वकप छनोटका लागि एन्फाले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण १ भदौबाट सुरु गर्ने तयारी गरेको छ ।

फिफा विश्वकप २०२२ छनोटअन्तर्गत नेपालले तीन होम खेल खेल्दैछ । दशरथ रंगशालामा हुने तीन खेल असोज र कात्तिकमा आयोजना हुनेछ ।

विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल तीन अंकका साथ चौथो स्थानमा छ । नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ । समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ ।

Loading...