Rumpum

Rumpum Advertisement

दक्षिण एशियाली मुलुकका मानिसहरुको औसत आयु पाँच वर्ष घट्दै

दक्षिण एशियाली मुलुकका मानिसहरुको औसत आयु पाँच वर्ष घट्दै

विराटनगर, साउन २६ । सिकागो विश्वविद्यालय उर्जा नीति संस्थान (ईपीआईसी) द्वारा गरिएको एयर क्वालिटी लाइफ इन्डेक्स (एक्यूएलआई) अध्ययनअनुसार कणिक प्रदूषण (वायुमण्डलमा जम्मा हुने कणबाट हुने प्रदूषण) का कारण विश्वको एक चौथाई जनसंख्या भएको दक्षिण एसियाली मुलुक नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा बसोबास गर्ने मानिसहरुको औसत आयु पाँच वर्ष घटेको छ ।

अध्ययनअनुसार कणिक प्रदूषणकै कारण विश्वभरिको मानिसको औसत आयु भने दुई वर्षले कम हुन थालेको छ । विश्वमा कोरोना महामारी फैलनु अघिसम्म मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो जोखिम कणिक प्रदूषण थियो । सिकागो विश्वविद्यालयले बिहीबार आफ्नो वेभसाइटमा प्रकाशित गरेको रिपोर्टमा यस्तो बताइएको छ ।

कणिक प्रदूषणले मानव शरीरभित्र क्षयरोग र एचआईभी÷एड्स जस्ता रोगभन्दा पनि बढी र तीव्र विनाश गर्ने गरेको पाइएको छ । विश्वमा धुम्रपान र युद्धका कारणले भन्दा पनि बढी मानिसको मृत्यु कणिक प्रदूषणले हुने गरेको अध्ययनले बताएको छ ।

अध्ययनअनुसार दक्षिण एसियाली मुलुक कणिक प्रदूषणको उच्च जोखिममा परेका छन् । यी देशहरुमा २० वर्षअघिको तुलनामा ४४ प्रतिशतले प्रदूषणमा वृद्धि भएको छ । जसका कारण भारत, पाकिस्तान, बंगलादेश र नेपालका मानिसहरुको औसत आयूमा पाँच वर्ष घट्न थालेको छ ।

डिजेल, पेट्रोलले चल्ने पुराना सवारीसाधन, पावर प्लान्ट, जंगल र खेतसँगै जोडेर बनाइएका उद्योग, कलकारखाना जस्ता परम्परागत प्रदूषणका स्रोतका कारण यी देशहरुमा कणिक प्रदूषण मुख्य चिन्ताको विषय बनेको हो । अध्ययनअनुसार दक्षिण एसियाली राष्ट्रका ८९ प्रतिशत मानिसहरु कणिक प्रदूषणको उच्च जोखिम रहेको स्थानमा बसोबास गरिरहेका छन् । यी स्थानमा विश्व स्वास्थ्य संगठनको (डब्ल्यूएचओ) मानिस बसोबास गर्न सुरक्षित रहेको मापदण्डभन्दा कयौं गुणा बढी प्रदूषण हुने गरेको छ ।

२०१३ मा ‘प्रदुषणविरुद्ध युद्ध’ अभियानको सुरुवात गरेको चीनले त्यसयता प्रदूषण उल्लेखनीय मात्रामा कम गरेको छ । विश्वभरि हुने गरेको प्रदूषणको कटौतीमा तीन चौथाई भाग चीनबाट भएको छ । अभियानमार्फत् चीनले आफूले गर्दै आएको प्रदूषण ४० प्रतिशतले कम गरेको छ । यदि प्रदूषण कटौती यथावत रह्यो भने चिनियाँ नागरिकको औसत आयु दुई वर्षले अझै लम्बिने अध्ययनमा विश्लेषण गरिएको छ ।

अमेरिका, युरोप र जापान पनि प्रदूषण न्यूनीकरणमा लागि परेका छन् । प्रदूषण कम गर्नका लागि नागरिकबाट आव्हान भएसँगै कडा नीतिहरु अवलम्बन गरिएकाले यी राष्ट्रहरुले सफलताको अनुभव गर्न थालेका छन् ।

ईपीआईसीका निर्देशक माइकल ग्रीनस्टोनका अनुसार प्रदूषणविरुद्ध राष्ट्रहरुले कडा नीति अवलम्बन गर्ने हो भने प्रदूषणलाई अवश्य कम गर्न सकिन्छ । उनी भन्छन्, ‘अहिलेको अवस्थामा देशहरुले आर्थिक वृद्धि र वातावरणीय गुणस्तरको दोहोरो लक्ष्यलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेका छन्, जुन सम्भव भइरहेको छ ।’

(सिकागो विश्वविद्यालय उर्जा नीति संस्थान (ईपीआईसी) द्वारा प्रकाशन गरिने एयर क्वालिटी लाइफ इन्डेक्सले (एक्यूएलआई) कणिक वायू प्रदूषणले मानिसको आयूमा कसरी असर गर्छ भन्ने विषयमा विश्लेषण गर्छ । यो २०१८ मा सुरु गरिएको हो ।)