Rumpum

Rumpum Advertisement

चिया बिक्री केन्द्र छ वर्षदेखि अलपत्र

चिया बिक्री केन्द्र छ वर्षदेखि अलपत्र

इलाम, २६ साउन । नेपाली चियाको बिक्री प्रबद्र्धन गर्ने उद्देश्यले छ वर्षअघि नै निर्माण सुरु भएको चिया लिलाम बिक्री केन्द्र (अक्सन सेन्टर) अझै पूरा भएको छैन । क्रेतालाई नेपालमै भित्र्याएर चिया बेच्ने उद्देश्यले अक्सन मार्केट खोल्न सुरु भएको हो ।

स्थानीय बजारबाटै चिया बिक्रीका लागि अक्सन मार्केट निर्माण गर्न खोजिएको हो । अवधारणअनुसार निर्माण पूरा नहुँदा क्रेताले सबै चिया बाहिर बजारमै लानुपर्ने अवस्था छ । अक्सन बजारका लागि छ वर्षअघि नै बजेट छुयाइएर निर्माण सुरु गरिएको थियो ।

‘निर्माण सुरु भएको पनि हो, झापामा एउटा घर भाडामा लिएर अफिस र ल्याब सञ्चालनको तयारी गरियो, चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले भने, ‘अक्सन सेन्टर खोल्न व्यवसायीले सर्त राखे । अर्थमन्त्रालयले सम्बोधन गरेन । यसपछि अक्सनका लागि बजेट छैन ।’

सरकार, बोर्ड र व्यवसायीको आ–आफ्नै सर्त र तर्कले अक्सन अल्झिएपछि यसको मार अहिले साना चिया किसानलाई परेको छ । तयारी चिया निर्यात गर्नै समस्या भएको जनाउँदै उद्योगी व्यवसायीले किसानलाई हरियो पत्तीको लागत मूल्यसमेत नदिँदा किसानको घरमा हातमुख जोर्ने समस्या हुन थालेको किसान बताउँछन् ।

‘अक्सन निर्माण नहुनुको मुख्य कारण राजनीतिक अस्थिरता नै हो,’ केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले भने, ‘पुराना सरकार भत्किँदै गए र नयाँ बन्दै जाँदा अक्सन प्राथमिकतामा परेन ।’

अक्सन निर्माण भएर स्थानीयस्तरमै चियाको प्रबद्र्धन गर्न सकिने र चियाको ‘भ्यालू’ पनि बढ्ने उनको अपेक्षा छ । ‘अन्य देशका ब्रोकर भेला गराएर चियाको जानकारीपछि किन्न लगाइन्छ,’ महासचिव राईले भने, ‘निर्माणको ढाँचा हेर्न भारतसम्म पनि गइयो तर निर्माण सम्पन्न भएन ।’