विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुग्यो

विराटनगर, २५ साउन । विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

शनिबार दुई प्रयोगशालामा जाँच गर्दा फरक–फरक रिपोर्ट आएका व्यक्तिलाई प्रदेश सरकारले कोरोनाकै करण मृत्यु भएको बताएपछि विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या चार पुगेको हो ।

यसअघि विराटनगर– ९ का २ जना र विराटनगर–५ का १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

शनिबार विराटनगर महानगरपालिका–१० का ६३ वर्षीय रमेश अग्रवालको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

कोशी अस्पतालमा कोरोना पोजिटिभ देखिएका ती व्यक्तिको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा नेगेटिभ देखिएको थियो ।

प्रदेशको रिपोर्ट नेगेटिभ आएपछि विराटनगर महानगरपालिकाले थोरै मलामीको उपस्थितिमा दाहशंस्कार गर्नेगरी शव जिम्मा लगाएको थियो ।

मिर्गौला रोगी रहेका अग्रवालको शनिबार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । बिहीबार कोशी अस्पतालको फिबर क्लिनिकमा स्वाब संकलन गराएका थिए ।

रिपोर्ट नआउँदै उनी गम्भीर बिरामी परे । आफन्तले शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रठिष्ठान धरान लगेका थिए । धरानले पनि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालमा स्वाब पठाएको थियो । प्रदेशमा जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रदेश १ का दुई पीसीआर ल्याबमा फरक रिपोर्ट आएपनि परिवारले नै उनको अन्तिम संस्कार गरेका थिए । तर आइतबार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ उल्लेख छ ।

६ जना नै मोरङका हुन् । प्रदेश सरकारका अनुसार विराटनगर– ९ का २ जना, विराटनगर– १० का १ जना र विराटनगर– ५ का एक जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

त्यस्तै रंगेली नगरपालिका–८ र सुनबर्षी नगरपालिका– ८ का एक–एक जनाको मृत्यु भएको थियो ।

Loading...