च्याम्पियन्स लिगबाट बाहिरिएपछि निराशिए रोनाल्डो

एजेन्सी, २५ साउन । इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगबाट बाहिरिएपछि निराश बनेका छन् ।

फ्रेन्च क्लब लियोनसँगको नतिजा बराबरी भए पनि अवे गोलको आधारमा च्याम्पियन्स लिगबाट ‘आउट’ हुनु परेपछि पोर्चुगिज कप्तान रोनाल्डो निराश बनेका हुन् ।

गत शुक्रबार राति अन्तिम १६ को दोस्रो लेगमा युभेन्टसले २–१ गोलको जित निकालेको थियो । त्यसअघि पहिलो लेगमा १–० गोलले स्तब्ध बनेको युभेन्टसले अवे गोलका कारण क्वार्टरफाइनलमा स्थान बनाउन सकेन ।

३५ वर्षीय रोनाल्डोले त्यसको निराशापन सामाजिक सञ्जाल इन्स्टाग्राममा पोखेका छन् ।

‘२०१९–२० को सिजन हाम्रो लागि सकिएको छ । अरुबेलाभन्दा धेरै पछि तर हामीले सोचेको भन्दा पहिले’, उनले लेखेका छन् ।

‘अब यो समय उतार चढावको विश्लेषण गर्ने समय हो र आफूलाई परिवर्तन गर्ने समय हो । किनकि, आलोचनात्मक सोच नै आफूलाई सुधार गर्ने एक मात्र बाटो हो’, उनले थपे ।

‘युभेन्टस जस्तो एउटा ठूलो क्लबले सधैं विश्वकै उत्कृष्ट सोच राख्नुपर्छ । र, विश्वकै सर्वोत्त्कृष्ट काम गर्नपर्छ । हामीले गर्व महशूस गर्न सक्छौं किनकि हामीले कठिन वर्षमा पनि सिरी ‘ए’ जित्यौं । तर, समर्थकले हामीसँग धेरै कुरा मागेका छन्, उनीहरूले हामीबाट धेरै कुरा अपेक्षा गरेका छन् र हामीले त्यी कुरा दिनै पर्छ,’ उनले लेखेका छन् ।

https://www.instagram.com/p/CDorgwAAx6k/?utm_source=ig_web_copy_link
Loading...