Rumpum

Rumpum Advertisement

जनता मरिरहँदा प्रदेश सरकार रमिते बन्यो : कांग्रेस

जनता मरिरहँदा प्रदेश सरकार रमिते बन्यो : कांग्रेस

विराटनगर, २५ साउन । नेपाली कांग्रेस प्रदेश नं १ संसदीय दलले कोरोना नियन्त्रण गर्न र जनताको स्वास्थ्य प्रदेश सरकार जिम्मेवार नेदेखिएको भन्दै जनताको ज्यान बचाउने कार्य गर्न सरकारलाई आग्रह गरेको छ ।

कांग्रेस प्रमुख सचेतक केदार कार्कीले आइतबार विज्ञप्ति निकाल्दै लकडाउनअघि नै आफ्नो दलले कोभिड–१९ को संक्रमण बढ्ने खतरा औंलाउँदै सम्पूर्ण तयारी गर्न सरकारलाई झकझकाए पनि सोअनुरुप सरकारले नगरेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मुख्यमन्त्री दैनिक सामाजिक सञ्जालको भिडियोमा आएर कोरोनासँग लडिरहेको, पराष्त गर्न लागेको, घेराबन्दी भइसकेको जस्ता हल्का कुरा गरी जनमानसमा भ्रम छर्ने काम भयो । सरकारका कमी कमजोरी र भ्रष्टचारबाट जोगिन कोभिड १९ लाई राम्रोसँग ढालको रूपमा प्रयोग गर्न सफल रह्यो । सरकारले मिडियामा र संसदमा पटकपटक पर्याप्त मात्रामा आइसोलेशन बेड तयारी रहेको भनि दिएको अभिव्यक्ति अहिले आएर झुटो सावित भएको छ ।’

मोरङको गोठगाँउको पूर्वाञ्चल विश्व विद्यालयको अस्पताल लेभल १, विराटनगरको कोशी कोभिड अस्पताल लेभल २ र धरानको वीपी प्रतिष्ठान लेभल ३ भनेपनि समुदायमा संक्रमण फैलिएर संक्रमित बढेपछि संक्रमितलाई समेत व्यवस्थापन गर्न नसक्दा प्रदेश सरकारको काम उदांगो भएको विज्ञप्तिमा जनाइएको छ ।

‘जनताको अगाडि मुखै देखाउन नसकेर मुख्यमन्त्री लामो समयसम्म काठमाण्डौ बस्नुले जनताप्रति सरकार कति जिम्मेवार छ भन्ने छर्लंग भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कोशी अस्पतालमा अक्सिजनसम्म नहुनु कति लाजमर्दो कुरा हो । लेभल ३ भनेको अस्पताल अझै पूर्ण निर्माण भइनसकेको र बिरामी सिकिस्त हँुदा उपचार गर्न नसक्ने र अस्पतालको गेटमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुनु दुःखद कुरा हो ।’

संक्रमित त परै जाओस् लक्षणसहित सास फेर्न गाह्रो परेको बिरामीलाई समेत भर्ना लिने अस्पताल नभएको र पीसीआर टेस्टको दायरा बढाउन दिएको दबाब र सरकारको लाचारीपन उदेक लाग्ने खालको भएको कांग्रेसको ठहर रहेको जनाइएको छ ।

दैनिक हजार क्षमताको परीक्षण गर्न ल्यावको कुरा गरे पनि यसको दर बढाउन नसकेको र अर्थिक प्रभाव परेकाहरूको विषयमा त परै जाओस् संक्रमितहरूको समेत व्यवस्थापन गर्न सरकार सक्षम नदेखिएको विज्ञप्तिमा जनाइएको छ ।

‘प्रदेश सरकार केवल केन्द्रको मुख ताक्ने र संघीय सरकार जस्तै गैरजिम्मेवार र निकम्मा भएको जनताले महशूस गरेको सजिलै अनुमान गर्न सकिन्छ । फेरि पनि सरकारलाई पीसीआरको दायरा बढाउन, आइसोलेसन र भेन्टिलेटरसहितको अस्पताल तुरुन्त व्यवस्था गर्न जोडदार माग गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले जनताप्रति पारदर्शी भएर जनधनको सुरक्षा तथा शान्ति सुरक्षा कायम गर्न सरकारसमक्ष माग पनि गरेको छ ।