अस्पताल चहार्दा चहार्दै युवतीको मृत्यु, कोरोना परीक्षण गर्दा ‘पोजिटिभ’

वीरगञ्ज, २५ साउन । वीरगञ्जमा निजी अस्पतालले उपचार नगर्दा अस्पताल चहार्दा चहार्दै ज्यान गुमाएकी २० वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिका–२ छपकैया घर भएकी उनको मृत्युपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिए ।

उनको उपचारका लागि शुक्रबार राति वीरगञ्जका निजी क्षेत्रका अस्पतालहरूमा डुलाउँदा डुलाउँदै अन्ततः अस्थायी कोभिड अस्पताल गण्डकमा पुर्‍याउनासाथ बिहान २ः०० बजे मृत्यु भएको थियो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा मृतकलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पहिला सामान्य ज्वरो आएको र औषधि खाएपछि ज्वरो निको भएको अवस्थामा २३ साउनमा महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि पहिला वीरगञ्जको एडभान्स अस्पताल, तराई अस्पताल, भवानी अस्पताल, वयोधा अस्पताल, नेशनल मेडिकल कलेज शिक्षण अस्पताल चहार्दा चहार्दै कुनै अस्पतालले भर्ना लिन नमानेपछि अन्त्यमा अस्थायी कोरोना गण्डक अस्पतालमा पुर्‍याउँदा ज्यान गएको थियो ।

Loading...