birat ribon

क्षयरोग लागेर हात्तीको मृत्यु

Neuro
क्षयरोग लागेर हात्तीको मृत्यु

विराटनगर, २५ साउन । क्षयरोग लागेर चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको ज्यान गएपछि त्यहाँ रहेका सबै हात्तीको स्वास्थ्य परीक्षण गर्न लागिएको छ ।

गत सोमवार ५२ वर्षे दीपेन्द्रगज नामक हात्तीको मृत्यु भएपछि अधिकारीहरूले निकुञ्जभित्र र निजीरूपमा पालिएका सबै हात्तीमा संक्रमण रहे–नरहेको जाँच गर्न लागिएको बताएका हुन् । क्षयरोग देखिएपछि हात्तीको उपचारका लागि खर्च र औषधिको जोहो गर्दागर्दै अचानक ज्यान गएको चितवन राष्ट्रिय निकुञ्जका चिकित्सक विजय श्रेष्ठले जानकारी दिएका हुन् । क्षयरोगका कारण सन् २०२० मा ज्यान गुमाएको दीपेन्द्रगज दोस्रो हात्ती हो ।

cura insider

राष्ट्रिय प्रकृति संरक्षण कोषका पशुचिकित्सक अमिर सडौलका अनुसार हात्तीहरूले क्षयरोगका कारण निरन्तर ज्यान गुमाइरहेकाले र तत्कालै परीक्षण नगर्दा एउटा हात्तीबाट अर्कोमा क्षयरोग सर्ने जोखिम रहने हुँदा चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा होटलहरूले निजीरूपमा पालिरहेका हात्तीहरूको केही दिनमै नमुना संकलन गरेर परीक्षण गर्न लागेको हो ।

निकुञ्जमा रहेका हात्तीहरूको गत वैशाखमा स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको भए पनि लकडाउनले गर्दा परीक्षण हुन नसकेको बताइएको छ । हात्तीमा क्षयरोग भएको वा नभएको पहिचान गर्न पनि कठिन हुन्छ । क्षयरोगले हात्तीको फोक्सोमा असर गर्छ, तर मोटो छाला हुने भएकाले एक्सरे गरेर परीक्षण गर्न सकिँदैन । ¥यालबाट जाँच्दा फोक्सोबाट सुँडको टुप्पोसम्मको दूरी धेरै हुने हुँदा ब्याक्टेरिया त्यसमा आउने सम्भावना पनि एकदमै कम हुन्छ ।

क्षयरोग लागेको हात्तीको उपचारको लागि निकुञ्जसँग नियमित बजेट नहुँदा खर्च जुटाउन समस्या पर्ने गर्छ । क्षयरोग लागेको हात्तीलाई कम्तीमा एक वर्ष उपचार गर्नुपर्ने र त्यसको औषधिको लागि झन्डै आठ लाख रुपैयाँजति खर्च हुने गर्छ । श्रेष्ठका अनुसार एक पटकमा क्षयरोगको उपचारका लागि १५० देखि २०० वटा ट्याब्लेट हात्तीलाई खुवाउनु पर्ने हुन्छ ।

चितवनमा बाहेक पर्सा राष्ट्रिय निकुञ्जका दुईवटा हात्ती पनि क्षयरोग संक्रमणका कारण मरेको बताइएको छ । नेपालमा सन् २००२ मा पहिलोपटक हात्तीमा क्षयरोग देखिएको थियो । त्यसयता चितवनमा मात्रै क्षयरोगका कारण १५ वटा हात्तीले ज्यान गुमाइसकेका छन् । त्यस्तै, सन् २००८ देखि सन् २०१६ सम्म चितवनमा क्षयरोग लागेका लगभग ६० वटा हात्तीको उपचार गरिएको अधिकारीहरू बताउँछन् ।

jackson ribon