विपक्षी दलहरुको भूमिका शून्य

काठमाडौ, २४ साउन । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले कामै गर्न नसकेको भन्दै आलोचना गर्ने विपक्षी दलहरुले पनि रचनात्मक काम गर्न सकेका छैनन् ।

कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारलाई दबाव दिनबाहेक विपक्षी दलहरुले जनस्तरमा प्रभाव पार्ने ढंगले रचनात्मक काम गर्न सकेका छैनन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले काम गर्न नसकेको भन्दै विपक्षी दलहरुले चर्को आलोचना भने गरिरहेका छन् ।

केही युवाहरु सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने माग राख्दै अनसनमा समेत बसेका छन् । यद्यपि विपक्षी दलहरुले सरकारलाई दबाव दिनबाहेक क्वारेन्टिन व्यवस्थापन, राहत वितरण र उद्दारका काममा आफ्ना नेता कार्यकर्ताहरुलाई परिचालन गर्न सकेका छैनन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुरुवाती दिनमा मिडियामार्फत् कोरोना संक्रमणबाट जोगिनका लागि जनचेतनामूलक सन्देश जारी गरे पनि ठोस र सशक्त कदम भने चाल्न सकेको छैन ।

तर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने पार्टीले आफ्नो ठाउँबाट आवश्यक पहल र सरकारलाई सहयोग गरिरहेको दावी गरे । उनले जनतालाई सुसूचित गराउन कार्यकर्ता परिचालन गरिएको, स्वास्थ्य सामग्री वितरण गरेको, पार्टीको तर्फबाट सरकारको खातामा ५० लाख रुपैयाँ नगद जम्मा गरेको बताए । ‘सत्तामा सँगै नभए पनि संकटमा सँगै रहेको’ सन्देश दिँदै सरकारका कमीकमजोरी औलाउँदै पार्टी अगाडि बढेको उल्लेख गर्दै शर्माले सांसदहरुको तर्फबाट समेत १५ दिनको तलब बराबरको रकम सरकारी खातामा जम्मा गरेको फेयरिस्त सुनाए ।

केही समयअघि मात्रै पार्टी एकता भएको जनता समाजवादी पार्टी (जसपा) ले समेत सरकारलाई नैतिकरुपमा दबाव दिनबाहेक केही काम गर्न सकेको छैन । जसपाका कार्यकारिणी सदस्य केशव झाले वडास्तरसम्म नेता कार्यकर्ता परिचालन गरी सूचना प्रवाह, राहत वितरणका काम पार्टीले गरेको दावी गरे । उनले राजनीतिक पार्टीले सरकारले जसरी धेरै काम गर्न नसक्ने बताए ।

लकडाउन सुरु हुनुभन्दा करिब दुई हप्ताअगाडि मात्रै पार्टी एकता गरेर गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको अवस्था पनि त्यस्तै छ । फागुन २८ मा पार्टी एकता गरेको राप्रपाले एकतालाई पूर्णता दिन नपाउँदै लकडाउन सुरु भयो । लकडाउनको समयमा पनि सरकारलाई पटक–पटक दबाब दिने काम पार्टीका अध्यक्षहरुले गरेको राप्रपा नेता मोहन श्रेष्ठले दावी गरे ।

Loading...