मुसहर बस्ती आक्रमण प्रकरण : राज्यमन्त्रीले बुझिन् वास्तविकता

विराटनगर, २४ साउन । मोरङको बुढीगंगा गाउँपालिका–२ खार्जी गाउँमा मुसहरमाथि भएको आक्रमणबारे प्रदेश १ सरकारकी समाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले घटनास्थल पुगेर जानकारी लिएकी छन् ।

शनिबार जनप्रतिनिधि, अधिकारकर्मी र प्रहरी र राजनैतिक दलका कार्यकर्तालाई सँगै लिएर घटनास्थल पुगेर अवस्था बुझेकी राज्यमन्त्री गजमेरले मध्यरातमा गरिबहरुमाथि आक्रमण गर्नेहरुले कानुनअनुसार कडा सजाय पाउनुपर्नेमा जोड दिइन् ।

टोलमा कायम रहेको त्रासको वातावरण अन्त्य गराउन लागिपर्न स्थानीय प्रहरी र जनप्रतिनिधिहरुलाई निर्देशन गरिन् । मन्त्री गजमेरले मुसहरी टोलमा गरिबी निवारणका लागि चाँडै आत्मनिर्भर कार्यक्रम सञ्चालन गराउने र महिला र बालबालिकाहरुका लागि मनोविमर्शकतामार्फत् आवश्यक सहजीकरण गराउने जानकारी पनि गराइन् ।

त्रासमय मुसहरी टोलको अवस्था समान्य बनाउन शनिबार मुसहरी बस्तीमा भएको पूर्व सांसद खेम नेपाली, नेपाली कांग्रेस गाउँ सभापति जितनारायण थापा, नेकपा मोरङ सदस्य कपिल सृुनार, अधिकारकर्मी उमेश विश्वकर्मालगायतले घटनामा संलग्न फरारहरुलाई पनि पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

बुढीगंगा गाउँपालिका अध्यक्ष वालचन्द्र माझीले घाइते परिवारलाईआवश्यक राहत प्रदान गर्ने प्रतिवद्धता गरे । मन्त्री गजमेर शनिबारै बुढीगंगा–२ टंकीस्थित विराट मेडिकल कलेज अस्पतालमा उपचाररत घाइतेहरुलाई प्रत्यक्ष भेटेर उपचारको अवस्थाबारे जानकारी लिएकी थिइन ।

स्थानीय वैजनाथ यादवको परिवारसँग बाटोमा खनिएको खाल्डोको विवादलाई लिएर १९ साउन राती विराटनगर–१४ जतुवाबाट हातहतियारसहित गएको गुण्डाहरुको समूहले मुसहरहरुमाथि अन्धाधुन्ध आक्रमण गरेको थियो ।

आक्रमणमा परेर ५० वर्षीया सरस्वती ऋषिदेव र उनका भाइहरु क्रमशः ४० वर्षीय पन्नाालाल ३८ वर्षीय चुन्नीलाल, ३५ वर्षीय रामजी र ३३ वर्षीय श्याम ऋषिदेव गम्भीर घाइते भएका थिए । आमा र काका बडाबाहरुलाई घाइते बनाएको र उनीहरुलाई प्रहरीले कुनै कारवाही नगरेको थाहा पाएपछि त्रासको चिन्ताले २४ वर्षीया उर्मिला ऋषिदेवले २२ साउन (बिहीवार) दिउँसो झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

आक्रमणमा संलग्न छजनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्यको खोजी तीव्र बनाएको जनाएको छ ।

मोरङ प्रहरीले आक्रमण गर्ने १२ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । साथै आत्महत्या दुरुत्साहन कसुरमा पनि अनुसन्धान गर्नेे प्रतिबद्धता जनाएको छ ।

Loading...