लघुकथा : मास्क सुन्दरी

ध्रुवकुमार सापकोटा

घरकै सामु ठूलो सप्पिङ सेन्टर छ अनि सुपर मार्केट पनि । म तरकारी आदि किन्न निस्केको थिएँ ।

मान्छेहरुको माझ मेरो सामुन्नेबाट अघि बढिरहेकी एक युवतीमा मेरा आँखाहरु थामिए ।

उनले टिसर्ट र स्कर्ट लगाएकी थिइन्, रेशमजस्तो उनको कपाल खुल्लै थियो र हल्का हावाले अलिअलि उडाइरहेको थियो । अग्लो स्यान्डिलमा थिइन् उनी । टक टक टक टक अघि बढिरहेकी थिइन् ।

साह्रै राम्रो मिलेको जिउ, अग्ली … कुनै सिपालु मूर्तिकारले निकै मेहनत गरेर बनाएको सुन्दर मूर्तिजस्तो भान हुन्थ्यो ।

जिउ राम्रो हुँदैमा मुहार राम्रै हुनुपर्छ भन्ने छैन । मलाई जिज्ञासा भयो– हेरुँ न उनको मुहार । कस्ती रहिछन् !

उनको मुहार देख्नलाई म उनलाई उछिनेर अगाडि बढेर पछि फर्की हेर्नुपर्ने हुन्थ्यो । मैले आफ्नो गति बढाउँदै लगेँ । पछ्याइरहेको थिएँ । उनी दायाँ मोडिइन्, अझै पछ्याइरहेँ ।

बसपार्क नजिकै थियो । उनी फटाफट बसतिर लागिन् । आफ्नो ब्यागबाट मास्क निकालेर लगाइन् । उनी बस चढिन्, अब भने मैले उनलाई पछ्याउनुको कुनै अर्थ रहेन, बस हिँड्यो ।

मास्क नलगाएको भए बसको सिसाको झ्यालबाट भए पनि एक नजर देख्न पाइने थियो ।

उनको मुहार हेर्ने मेरो चाहना अधुरै रह्यो । अलिकति भए पनि खिन्न मन लिएर म सुपरमार्केटतिर फर्किएँ ।

Loading...