‘हामी पैसाकै लागि बालसाहित्य लेख्दैनौ’

प्रमोद प्रधान, नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन । वि.सं २०१५ असोज १५ गते विराटनगरमा जन्मिएका प्रधानले २०२६ सालदेखि लेख्न सुरु गरेका हुन् । विराटनगरका मञ्चहरूमा २०२९ सालदेखि कविता वाचनको थालनी गरेका प्रधानको रचना सोही बेलादेखि प्रकाशन हुन थाले । प्रारम्भिक समयमा ठूला साहित्यिक पत्रिकाले रचना नछाप्ने गरेको अनुभव बोकेका प्रधान समीक्षा साप्ताहिकले अघि बढ्न निकै उत्पे्ररणा दिएको बताउँछन् ।

बीकम/बीएसम्मको अध्ययन गरेका प्रधानले २०३१ सालदेखि हालसम्म पत्रकारिता गरिरहेका छन् । २०३६ मा राष्ट्रिय समाचार समितिमा प्रवेश गरी प्रधानसम्पादक (दसौँ तह) मा कार्यरत रहेको बेला २०६५ फागुन ११ देखि स्वेच्छिक राजीनामा दिएर उनले २०६७ असार १६ देखि २०७६ फागुन ७ सम्म आर्थिक अभियान दैनिकमा समाचार सम्पादकको काम गरे ।

नेपाली पत्रकारिता र साहित्यमा उत्तिकै सक्रिय प्रधानका रातभरिका सुस्केराहरू (कवितासंग्रह, २०३२) देखि छुट्यो झोला (बालचित्र कविता, २०७६) सम्म आइपुग्दा जम्मा ३३ वटा कृतिहरू प्रकाशन भइसकेका छन् ।

दर्जनभन्दा बढी पुस्तक तथा पत्रपत्रिकाहरूको सम्पादन गरिसकेका प्रधानले दुई दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान पाइसकेका छन् भने गोरखा दक्षिणबाहुजस्तो प्रतिष्ठित आभूषणबाट आभूषित भइसकेका छन् ।

नेपाल बालसाहित्य समाजका आजीवन सदस्य एवम् बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रधानसँग कोशी अनलाइनका लागि रामप्रसाद पौडेलले गरेको कुराकानी ः

साहित्य लेखनको सुरूवात कसरी गर्नु भयो ?

महोत्तरी जिल्लाको जलेश्वरमा रहेको लचमु उच्चाङ्गल विद्यालयमा कक्षा ६ मा पढ्थेँ म त्यसबेला । यो २०२५ सालको कुरा हो । नेपालीका शिक्षक श्री रामप्रसाद सिरजले राष्ट्रिय बालदिवसको अवसरमा कविता लेखेर ल्याउनु भनेर अह्राउनु भयो । कविता के हो भन्ने सामान्य कुरासमेत थाहा नभएको मैले कसरी पो लेख्न जान्दथेँं र ? तर लेखेर त लग्नै पर्ने थियो । घरमा कुरा गरेपछि बुबा र दाइले सिकाइदिनु भयो । तुक मिलाएर जसरीतसरी एउटा कविता लगेँ । मैले आफ्नो नामबाट लेखेको भनेको पहिलो रचना नै त्यही हो । मेरो दाइ त्यसबेला कविता, लेख लेख्नुहुन्थ्यो । दाइका लेखहरू सो विद्यालयबाट प्रकाशित हुने मुखपत्र सिर्जनामा छापिएको थाहा थियो मलाई । नाम छापिएको देखेर अचम्भित थिएँ म । त्यसैबाट प्रेरित भएर अलिअलि गर्दै लेखनतर्फ रुचि बढ्यो । २०२९ सालमा विराटनगर आएपछि भने साहित्यकारहरूसँगको सम्पर्कले पनि अघि बढ्न मद्दत पुर्‍यायो ।

हालसम्म प्रकाशित तपाईंका कृतिहरूमध्ये पाठकले सबैभन्दा रूचाएको कृति कुन हो ? किन पाठकले त्यो कृति रूचाए होलान् ?

यो भन्न बडो गाह्रो छ । रुचाएको भनेर भन्ने आधार के ? पुस्तकको बिक्री या कार्यक्रममा वाचन गर्दा पाइएको ताली ? कतिपय साथीहरू मैले कवितामा नै केन्द्रित भएर लाग्नुपर्छ भन्छन् । कतिपय चाहिँ तपाईंले अरूले नलेखेका विधाका इतिहास लेख्नु भए राम्रो भन्छन् । मलाई चाहिँ कविता, समालोचना र बालसाहित्य तीनै क्षेत्रमा रुचि छ र निरन्तर लागिरहेकै पनि छु । बिक्रीको आधारमा भन्ने हो भने नेपाली बालसाहित्यको इतिहास तेस्रो संस्करण सकिएको छ । म चौथो संस्करणको तयारीमा छु अहिले । बालसाहित्यका धेरै कृतिहरू चौथो, पाँचौँ संस्करणसम्म निस्किएका छन् ।

तीसको दशकमा विराटनगरमा भएको साहित्यिक माहोल र आन्दोलनलाई कसरी सम्झनुहुन्छ ?
त्यो मसहित हाम्रा साथीहरूको साहित्यिक संघर्षको समय थियो तर स्वर्णिम समय पनि थियो । विराटनगरका हामी केही रैथाने र विभिन्न छिमेकी जिल्लाहरूबाट कलेज अध्ययनका लागि आएका साथीहरूको एउटा साझा मञ्च थियो, युवा साहित्यिक परिवार । त्यसले हामीलाई निरन्तर सिर्जनरत रहन, आफ्नो अध्ययनको सीमा फराकिलो पार्न, आलोचनात्मक चेतनाको विकास गर्न, सामूहिकरूपमा अघि बढ्न र आफ्नो सिर्जनालाई परिमार्जन गर्न त्यसले अत्यन्त महत्वपूर्ण योगदान पु¥यायो । त्यसपछि कतिपय साथीहरू अध्ययनको सिलसिलामा विराटनगरबाट गए पनि पछिसम्म हाम्रो सम्पर्क निरन्तर रह्यो र हामीलाई स्थापित गर्न समूहले योगदान ग¥यो । पछि शनिबार साहित्यिक समूहका माध्यमबाट पनि हामी जुटिरह्यौँ । वास्तवमा ती दुई अनौपचारिकरूपमा भएका सामूहिक प्रयासको इतिहास लेख्नुपर्ने आवश्यकता महसुस हुन थालेको छ यतिखेर । किनकि कतिपय साहित्यिक व्यक्तिहरू सो परिवार र समूह फलानाको नेतृत्वमा थियो भनेजस्ता मनगढन्ते कुरा भन्न बोल्न थालेको देखिएको छ । म स्पष्टसँग भन्छु युवा साहित्यिक परिवार र शनिबार साहित्यिक समूह दुवैमा कसैको नेतृत्व थिएन । रुचिका कारण आबद्ध सिर्जनशील लेखकहरूको साझा मञ्च थियो ।

यहाँले नेपाली साहित्यमा लेखिएका विभिन्न विधाहरूको इतिहास लेखनमा कलम चलाउँदै हुनुहुन्छ, के कुराले ‘फरक’ हुन प्रेरित गर्‍यो ?

साहित्यिक कृतिका साथै समालोचनात्मक ग्रन्थहरूको अध्ययन मेरो सुरुदेखिकै रुचिको क्षेत्र हो । युवा साहित्यिक परिवारमा पनि रचना वाचनपछि वाचित रचनाहरूमाथि साथीहरूले मलाई टिप्पणी गर्न लगाउँथे । त्यसले पनि मलजलको काम गर्‍यो । तर त्यससँगै तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०४४ सालमा आयोजना गरेको बालसाहित्यसम्बन्धी एउटा कार्यशालामा सहभागी भएपछि बालकविता लेख्न थालेँ र क्रमशः बालसाहित्यतर्फको रुचि पनि बढ्यो । हेर्दै जाँदा बालसाहित्यको इतिहास लेखिएकै देखिनँ । त्यसअघि मैले २०३५ सालमै रूपरेखामा नेपाली बालसाहित्यः विकासको धारा शीर्षकको मेरो रचना छापिएको थियो । त्यसबेलासम्म निस्किएका नेपाली साहित्यको इतिहासमा बालसाहित्यबारे एक अक्षरसम्म उल्लेख नभएपछि यो क्षेत्र अपहेलित भएको रहेछ, यसबारे खोज्नुपर्‍यो भनेर लागेँ । यो कृति २०५७ सालमा बगर फाउन्डेशनबाट प्रकाशित भयो । मोरङको पत्रकारिताको इतिहास मोरङमा पत्रकारिताको अर्धशताब्दी चाहिँ मार्टिन चौतारीको फेलोशिपमा लेखेको हुँ । मेरो प्रस्तावलाई मार्टिन चौतारीले लियो ।

वास्तवमा म वाणिज्यशास्त्रको विद्यार्थी हुँ । तर रुचि नेपाली भाषासाहित्य भएकाले अरूले उपेक्षा गरेको, हात नहालेको क्षेत्रमा काम गर्ने जाँगर चलाएको हुँ । विशेषगरी विश्वविद्यालयका प्राध्यापकहरूको समालोचना र इतिहास पाठ्यक्रमको माखेसाङ्लोभित्रै र अन्य कतिपय समालोचकका कृतिहरू गुट–उपगुटकै सेरोफेरोमा केन्द्रित हुन थालेको अनुभूतिले पनि यस क्षेत्रमा लाग्न उत्प्रेरित गरेको हो ।

अलिकति बाल साहित्यको कुरा गरौं, नेपालमा बाल साहित्यको अवस्था कस्तो छ ? भन्न ‘बाल’ भनिए पनि अन्य विधाको तुलनामा यो विधाले लेखक पाल्छ भन्छन् नि, साँचो हो त ?

विषयवस्तु, शैली र भाषा तीनवटै दृष्टिले नेपाली बालसाहित्य अघि बढेको छ । किशोरबाहेक अन्य उमेर समूहका लागि प्रशस्त किताब निस्किएका छन् । पौराणिक र लोककथाको पुनर्कथनबाहेक पनि मौलिक रचनाहरूको संख्या क्रमशः बढ्दो छ । औपदेशिकताभन्दा मनोरञ्जनलाई प्राथमिकता दिन थालिएको छ । विभिन्न रङमा मुद्रण हुन थालेको छ र कागजको स्तरीय प्रयोगतर्फ प्रकाशकको रुचि बढेको छ । यससँगै बालपुस्तक सम्पादन गरेर मात्र प्रकाशित गर्नेतर्फ प्रकाशकहरूको ध्यान गएकाले पनि बालसाहित्यको विकासमा सहयोग पुगेको हो । तथापि, विषयवस्तु, संरचना र भाषामा अझै सुधारको आवश्यकता छ ।

मध्यपहाडी क्षेत्रका कथाहरू बढी छन्, अब हिमाली भेग र तराईका कथाहरू पनि अलि बढी ध्यान दिन जरुरी छ । विभिन्न जातजातिका पात्रहरूका माध्यमबाट उनीहरूको संस्कृतिबारे जानकारी दिन उत्तिकै आवश्यक छ । बाल साहित्यकारहरूले बाल साहित्यका बारेमा अध्ययन गर्नु जरुरी छ । लेखक पाल्ने कुरा भने शतप्रतिशत झुटो हो । नेपालमा किताब कति प्रति छापिन्छ, कति बिक्री हुन्छ, लेखकले मूल्यको कति प्रतिशत रोयल्टी पाउँछ, पाउनुपर्ने रोयल्टी पाउँछ कि पाउँदैन ? पाउँछ भने कहिलेसम्म पाइसक्छ ? भन्नेबारे थाहा नभएका मानिसहरू यस्ता कुरा गर्छन् ।

बालसाहित्य लेखेर/छापेर मात्र नेपालमा बाँच्ने एउटा मात्र साहित्यकारको नाम भनिदिनुस् न बरु । हो, एक–दुई साथी यस्तो कोसिसमा छन् । तर लेखेर छापेर मात्र होइन । उनीहरू विभिन्न गैरसरकारी संघसंस्था र विद्यालयहरूले आयोजना गर्ने कार्यशालामा सहभागी भएर, पुस्तक सम्पादन गरेर, केटाकेटीहरूलाई कथालेखनसम्बन्धी तालिम दिएर, कथावाचन गरेर बाँच्ने प्रयास गर्दैछन्, यो राम्रो कुरा हो । तर अहिलेको स्थितिमा यो सम्भावना मचाहिँ अत्यन्त कम देख्छु ।

नेपाली बाल साहित्यमा प्रायोजित लेखन बढिरहेको देखिन्छ । प्रायोजकको इन्ट्रेस्ट पूरा गर्ने ध्याउन्नमा लेखकले आफ्नोपनलाई बचाइराख्न सक्छ त ?

प्रायोजित लेखन भनेर तपाईंले केलाई भन्न खोज्नुभएको हो ? तपाईंले चुरोट, रक्सी वा चाउचाउ खानुपर्छ भनेर लेखिएको बालकथाहरू देख्नुभएको छ ? जतिसुकै पैसा दिए पनि बाल साहित्यकारहरूले बालहितविरुद्धका यस्ता काम गर्दैनन् । हामी पैसाकै लागि बालसाहित्य लेख्दैनौँ । कुनै संस्थाले बालअधिकार, बालशिक्षा, बालस्वास्थ्य, बालसहभागिताको प्रबद्र्धनमा काम गरिरहेको छ भने उसले ती विषय समेटेर बाल साहित्यकारलाई कथा लेख्न लगाउन सक्छ । यो बालबालिकाकै हितको कुरा हो । प्रायोजनले बालबालिकाको अहित हुने काम हुनु हुँदैन, ध्यान दिनुपर्ने कुरा त्यति हो । कसैले वातावरणको संरक्षण, कसैले स्वास्थ्यसम्बन्धी समस्यामा केन्द्रित रहेर कार्यशाला गर्ने र कथा लेखाएर छाप्ने गरेका छन् । ती त वास्तवमा बालबालिकाका लागि मात्र नभई देशकै हितका लागि आवश्यक कुरा हुन् नि ! होइन र ?

एउटा बाल साहित्यकारको भविष्य कस्तो देख्नुहुन्छ ?

सबैभन्दा महत्वपूर्ण कुरा, बाल साहित्यकारलाई जुन उपेक्षा गरिने स्थिति थियो, त्यो क्रमशः हटिरहेको छ । यो सकारात्मक परिवर्तन हो । त्यसैले मर्यादाका दृष्टिले अब बालसाहित्यकार हुँ भनेर भन्न संकोच मान्नुपर्ने स्थिति छैन । विभिन्न विश्वविद्यालयहरूमा बालसाहित्यलाई पनि एउटा विषयको रूपमा स्वीकारिएको छ । निजीक्षेत्रबाट बालसाहित्यमा लाग्नेहरूलाई सम्मान गर्ने र पुरस्कार दिने क्रम बढेको छ । विद्यालयमा बाल पुस्तकालयको स्थापना गर्ने र बालबालिकालाई लेखनसम्बन्धी तालिम दिने क्रम पनि बढ्दो छ । त्यसैले बाल साहित्यकारलाई अब मूलधारको साहित्यकारजत्तिकै स्वीकार्ने क्रम बढेको छ । तपाईंले आर्थिक भविष्यको कुरा गर्नु भएको हो भने त्यो त मैले माथिको उत्तरमै स्पष्ट पारिसकेको छु ।

प्रकाशन गृहहरूले लेखक हेर्छन् कि लेखन ? धेरै सम्भावना भएका लेखकहरू प्रकाशक नपाएर यस क्षेत्रबाटै विस्थापित भएको सुनिन्छ, यहाँलाई कस्तो लाग्छ ?

स्थापित र विस्थापित हुने कुरा आफूमा पनि भर पर्छ । म पनि त मोफसलमा लामो समय बसेर संघर्ष गरेको मानिस हुँ । मलाई कसले प्रोत्साहित ग–यो ? कसले मेरो घरको आर्थिक आवश्यकता हेरिदियो र म स्वतन्त्र भएर लेख्न लागे ? साथीहरूसँगै संघर्ष गरियो, अध्ययन गरियो, कसैले छापेन भनेर चुप लागेर बसेनौँ । समर्पण र निरन्तरता चाहिन्छ यस क्षेत्रमा । मञ्चमा कविता सुनाउन थालेको ४८ वर्ष भयो तर मेरो कविताको समालोचना ३–४ जनाबाहेक अहिलेसम्म अरूले गरेकै छैनन् । त्यसमा पनि नाम चलेकाले त गरेकै छैनन् । तर त्यसो भनेर म चुप लागेर बसिनँ । म निरन्तर लागिरहेँ । यो मेरो रुचि र साधनाको क्षेत्र हो । साहित्यमा कतिपय स्रष्टा हार्ने जित्ने खेलमा पनि हुन्छन् । म हार्ने–जित्ने खेलमै छैन । नलेखे नलेखुन् । मेरो काम त आफ्नो रुचिको काम गर्नु हो, गरिरहन्छु । त्यसैले लेखकहरूले हरेस नखाई निरन्तर लागिरहनु पर्छ । सबैको एक दिन आउँछ । तर यसका लागि अध्ययन, साधना र धैर्य त चाहिन्छ ।

एकाथरी अभिभावक ‘अब पढ्ने साहित्यको जमाना सकियो, हाम्रा बच्चाहरू किताब पढ्न मान्दैनन्’ भन्ने गुनासो गर्न थालेका छन् । अबको विकल्प के हुन सक्ला ?

यस्ता कुरा त्यस्ता अभिभावकहरूले मात्र भन्छन्, जो आफैं पढ्दैनथे । अभिभावकहरू आफू मोबाइल, ग्याजेट आदिमा समय बिताउने अनि छोराछोरीलाई किताब पढ्दैनन् भनेर भन्ने ? अभिभावकहरूले बालमनोविज्ञान थोरै भए पनि जान्नु आवश्यक छ । पश्चिमी देशहरूमा सञ्चार प्रविधिको विकास हामीकहाँभन्दा बढी भएको छ र त्यससम्बन्धी सेवा र सुविधा पनि बढी छ । तर त्यहाँ पनि किताब छापिँदैछन्, पाठकहरू पनि उत्तिकै छन् । यो संस्कृतिको कुरा हो, पठन संस्कृतिको विकास हामीकहाँ अझै भएको छैन । आफ्ना छोराछोरीलाई एउटा १००–२०० रुपैयाँको पुस्तक किन्न हामी सक्दैनौँ तर साथीभाइसँग गफ गर्दागर्दै हजारभन्दा बढी रक्सी, चिया र चुरोटमा खर्च गर्छौं । अरूको कुरा छाडिदिऊँ, हुनेखाने कतिजना नेपालीको घरमा पुस्तकालय छ ? हाम्रो प्राथमिकतामा नै पुस्तक पर्दैनन्, अनि हाम्रा बच्चा किताब पढ्दैनन् भनेर गुनासो गर्दै हिँड्छन् । जुन घरका अभिभावक आफैं पढ्न रुचाउँछन्, घरमा पुस्तकालय छ, तिनका घरका बालबालिकाहरूको रुचि पढ्नतिर बिस्तारै जान्छ ।

नेपाली साहित्यका नवप्रवेशीहरूले यो अन्तर्वार्ता पढिरहँदा तपाईंबाट के सन्देश प्राप्त गर्ने ?

साहित्य व्यवसाय र पेशा होइन । यो रुचि, अध्ययन, साधना र समर्पणको क्षेत्र हो । रुचि छ, तर अरू तीन थोक छैन भने पनि अघि बढ्न सकिँदैन । सानो घेराबाट निस्कनोस् र अध्ययनको दायरा फराकिलो पार्नुहोस् । हामीकहाँ आफ्नो गुटको रचनामात्र पढ्ने र वाहवाह गरिदिने प्रचलन बढ्दो छ, यो घातक छ । राम्रोलाई राम्रो भन्नुहोस्, त्यसो भन्दा अनुहार बिर्सिनुहोस् ।

Loading...