birat ribon

काठमाडौं उपत्यकामा ‘सटडाउन’

Neuro
काठमाडौं उपत्यकामा ‘सटडाउन’

काठमाडौं, २३ साउन । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सेवा १५ दिनका लागि स्थगित गर्ने भएका छन् ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढेको भन्दै अत्यावश्यकबाहेकका पाँच वटा सेवा १५ दिनका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

cura insider

जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवाहरू नागरिकता वितरण, राहदानी वितरण, संस्था दर्ता, जनजाती सिफारिस, नाबालक परिचयपत्र वितरणलगायतका सेवाहरू २५ साउनदेखि ८ भदौसम्मका लागि स्थगित भएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संक्रमणबाट बच्न, दूरी कायम गर्नका लागि र भीडभाड कम गर्नको लागि पहिलो हतियारको रूपमा अत्यावश्यकबाहेकका सेवा प्रवाहलाई स्थगन गरिएको बताए ।

उनले कोभिडसँग सम्बन्धित पास वितरणको कार्य, विपदसँग सम्बन्धित कार्य र शान्ति सुरक्षाका सेवालगायतका कार्यहरूबाहेकका सबै सेवा स्थगन गरिएको बताए ।

भिडभाड गर्ने र मास्कको प्रयोग नगर्ने व्यक्तिलाई थप कडाइ गर्ने पनि दाहालले बताए ।

अहिलेसम्म कारवाहीस्वरुप जरिवाना गरिएकोमा अवदेखि नियम पालना नगरे कैदसम्मको कारबाही हुनसक्ने बताए । उनले भीडभाड अनुगमन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको पनि बताउ ।

उक्त समितिले विभिन्न क्षेत्रमा कोभिड रोकथाम तथा नियन्त्रणका लागि बनाइएको मापदण्ड पालना भए नभएको सम्बन्धमा अनुगमन गर्ने छ । बैंकिङ क्षेत्र, व्यापारिक प्रतिष्ठान, उद्योग कलकारखानामा अनुगमन गरी मापदण्ड पालना नभएको पाइए बन्द गराउने पनि उनले बताए ।

अहिले लकडाउनमा जानसक्ने स्थिति नभएकाले दूरी कायम गराउने र भीडभाड कम गर्ने विषयमा तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरू केन्द्रित भएको उनले बताए ।

त्यस्तै सम्भावित संक्रमणको जोखिमलाई हेरेर क्वारेन्टाइनको संख्या बढाउन पालिकाहरूलाई आग्रह गरिएको समेत बताए । उनले अन्य सरकारी कार्यालयको हकमा सम्बन्धित कार्यालय प्रमुखले नै निर्णय गर्नसक्ने बताए ।

jackson ribon