पाँचदिन पछि न्यूरो अस्पतालको इमरजेन्सी सेवा सुचारु

विराटनगर, २२ साउन । स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि बन्द भएको न्यूरो अस्पताल विराटनगरको इमरजेन्सी सेवा सुचारु भएको छ ।

अस्पतालमा कार्यरत कर्मचारी र उपचाररत सेवाग्राहीको कोरोना जाँच पछि बिहीबारबाट अस्पतालको इमरजेन्सी सेवा सुचारु भएको हो ।

अस्पतालको इमरजेन्सी वार्डमा कार्यरत चिकित्सकमा कोरोना देखिएपछि शनिबारबाट अनिश्चितकालका लागि अस्पताल सिल भएको थियो ।

अस्पताल निर्मलीकरणपछि बिहीबार साँझ ७ बजेबाट इमरजेन्सी सेवा सुरु गरेको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

‘अस्पतालका कर्मचारी र उपचाररत विरामीगरी ३०० बढीको कोरोना जाँच गर्याै ।’ भट्टराईले भने ‘ अस्पताल फ्यूमिगेसनपछि आजबाट इमरजेन्सी सेवा सुरु गरेका छौं ।’

न्यूरो अस्पतालमा कार्यरत पाँच स्टाफ नर्स, एक डाक्टर र एक विरामी कुरुवालाई कोरोना संक्रमण देखिएको थियो ।

संक्रमित नर्सलाई अस्पतालको आफ्नै आइसोलेशन वार्ड निर्माण गरेर राखिएको भट्टराईले बताए । ‘हाम्रा कर्मचारीलाई तुलसा मदर एण्ड चाइल्ड अस्पतालको आइसोलेसनमा राखेका छौं ।’ उनले भने ‘आइसोलेसनका लागि सरकारबाट पनि स्वीकृति लिएका छौं ।’

Loading...