‘बैठक, गोष्ठी तथा जमघट हुने कार्यक्रम तुरुन्त बन्द गर्नू’

विराटनगर, २२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौ उपत्यकाका सम्पूर्ण सरकारी तथा गैह्र सरकारी संघ–संस्थाहरूलाई कुनै पनि बैठक, गोष्ठी तथा जमघट हुने कार्यक्रम नगर्न आग्रह गरेको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक रूपमा बढ्न थालेपछि मन्त्रालयले कार्यालयमा हुने कुनैपनि कार्यक्रम नगर्न आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भने, ‘उपत्यकामा संक्रमणको दर बढेको छ । हामीmलाई धेरै अफ्ठेरो परेको छ । यसैले सरकारी तथा गैह्र सरकारी संघ–संस्थामा बैठक, गोष्ठी, सेमिनार जमघट तुरुन्त बन्द गर्नू र बन्द गर्न नमिल्ने भए भर्चुअली गर्न स्वास्थ्य मन्त्रालको अनुरोध छ ।’

यसैगरी उनले समयमै सावधानी अपनाएर संक्रमण नियन्त्रण गर्न नसके उपचारका लागि अस्पतालको बेड तथा अन्य उपकरणको अभाव हुनसक्ने चेतावनी समेत दिए ।

प्रवक्ता प्रा.डा. गौतमले भारतीय सीमा क्षेत्रका जिल्लाहरूमा संक्रमणको दर उच्च रहेको हुनाले स्थानीयपालिका तथा अन्य सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउनसमेत अनुरोध गरे ।

Loading...