गोल्डेन अस्पताल विराटनगरका तीन कर्मचारीमा कोरोना, इमरजेन्सी वार्ड सिल

डाइलसिस सेवा राेकियाे

विराटनगर, २२ साउन । विराटनगरको गोल्डेन अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मीसहित तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा दुई स्वास्थ्यकर्मी र एकजना प्रशासनका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रशासन प्रमुख सन्तोष मेहताका अनुसार संक्रमित मध्ये एकजना इमरजेन्सी वार्डमा कार्यरत स्वास्थ्यकर्मी हुन । एक जना डाइलसीस विभाग र एक जना प्रशासनमा काम गर्ने कर्मचारी हुन ।

तीन कर्मचारीमा संक्रमण देखिएपछि अस्पतालको इमरजेन्सी वार्ड र आइसोलेशन वार्ड सिल गरिएको उनले बताए ।

अस्पतालको ओपीडी सेवा पनि बन्द छ । ओपीडी र इमरजेन्सी बन्द भएकाले केही दिन नयाँ विरामी भर्ना नलिने मेहताले बताए ।

गोल्डेनमा दैनिक २० जनाको डाइलसिस गराउने क्षमताका तीनवटा मेसिन छन् । कर्मचारीमा कोरोना देखिएपछि डाइलसिस गराउने मृगौला पीडित समस्यामा परेका छन् । डाइलसिसका लागि अस्पताल पुग्ने मृगाैला राेग पीडितमा पनि संक्रमणकाे जाेखिम बढेकाे छ ।

अस्पतालका अधिकांश स्वासथ्यकर्मी र कर्मचारी क्वारेन्टाइनमा छन् । सबैको रिपोर्ट आइसकेपछि अस्पताल सञ्चालन गर्न सकिने उनले बताए ।

Loading...