तत्काल देशभरि लकडाउन हुँदैन : अर्थमन्त्री खतिवडा

काठमाडौं, २२ साउन । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने स्पष्ट पारेका छन् ।

मन्त्री खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको बताएका हुन् ।

उनले जोखिम भएका स्थानमा स्थानीय सरकार तथा जिल्ला स्तरबाट सेवाहरू रोकिने अथवा लकडाउन हुनसक्ने तर देशभर एकैसाथ लकडाउन हुने स्थिति नरहेको स्पस्ट पारे ।

उनले त्रसित भएर पूर्ण रूपमा यसअघि जस्तै लकडाउन हुन्छ भन्ने मनस्थिति कसैले पनि नबनाउन आग्रह गरे ।

उनले अहिले पनि दुई दर्जनभन्दा बढी स्थानीय तहहरूमा लकडाउन गरिएको उल्लेख गर्दै संक्रमणको जोखिम भएका ठाउँमा मात्रै लकडाउन हुने बताए ।

काठमाडौं उपत्यकाभित्रको बढ्दो संक्रमण जोखिम र त्यो पनि सरकारको मुख्य कार्यालयकै ठाउँमा संक्रमणको जोखम भएको हुनाले केही कदमहरू चाल्न सुरु गरिएको उनले बताए ।

जनजीवनमा अप्ठेरो परेपनि केही दिनका लागि सार्वजनिक सेवा लिने कुरामा हतार नगर्न पनि मन्त्री खतिवडाले आग्रह गरे ।

सरकारले कोरोना नियन्त्रणका लागि प्रतिकारात्मक र उपचारात्मक विधि अपनाएर काम गरिरहेको र संक्रमितलाई भेन्टिलेटरसम्म पुग्नुपर्ने अवस्था आउन नदिने बताए ।

त्यसका लागि सरकारले उपचारका संयन्त्र, यन्त्र उपकरणलगायतको व्यवस्था गरिरहेको बताए ।

क्वारेन्टाइनहरू खाली हुँदै जाने र आइसोलेशनका बेडहरू बढ्दै जाने स्थिति भएकाले सोहीअनुसारको व्यवस्था गर्नुपर्ने आवश्यकताअनुसार काम भइरहेको स्पस्ट पारे ।

आवश्यकताअनुसार कतिपय ठाउँमा आइसियु कक्षको थप विस्तार गर्दै जाने रणनीतिमा सरकार रहेको उनको भनाइ थियो ।

यस्तै कोभिडको रोकथाम तथा नियनत्रणका लागि लकडाउन गरिरहँदा स्वास्थ्यसम्बन्धी अरु कारणले मृत्यु नहोस् र अन्य आर्थिक समस्यासमेत नआओस् भन्ने विषयमा सरकार सजग रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने या नगर्ने भन्ने सम्बन्धमा स्वास्थ्य क्षेत्रका विज्ञहरू र आर्थिक क्षेत्रका विज्ञहरूसँग छलफल गरिसक्नुभएको उनले बताए ।

विज्ञहरूले लकडाउन मात्रै समस्याको समाधान नभएको सुझाव दिएकाले सोहीअनुसार नै व्यवस्थापन गरिने बताए ।

विज्ञहरूले मानिसको मृत्यु सम्मको अवस्थामा पुर्‍याउने विभिन्न रोगको विवरण उपलब्ध गराएको र त्यसमा कोरोना ५० औं नम्बरमा रहेको बताए ।

समस्या बढ्दै जाँदा कतिपय अवस्थामा अलि कठोर हुनुपर्ने र कतिपय अवस्थामा खुकुलो हुनुपर्ने गरी व्यवस्थापन गरिने स्पस्ट पारे ।

उनले जुन जिल्लाहरुमा कोरोना संक्रमणको अवस्था शून्य भइसक्यो त्यहाँ खुकुलो गर्ने र जुन जिल्लामा बढेको छ त्यहाँ स्थानीय तहमार्फत अथवा जिल्लामार्फत कडाइका साथ जाने बताए ।

सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन गर्ने नगर्ने विषयमा उदार भएर निर्णय गर्ने स्थिति नरहेको समेत उनले बताए । यसमा पनि विज्ञहरूको सुझाव लिएर निर्णय गरिने उनले स्पस्ट पारे ।

अहिलेको स्थिति रहिरहेमा उदार बनेर सार्वजनिक यातायात खोल्ने, विद्यालय सञ्चालन गर्ने र उडान गरिहाल्ने अवस्था नरहेको उनको भनाइ थियो ।

यस्तै विदेशमा अलपत्र परेका व्यक्तिलाई मात्रै उद्धार गर्ने गरी हवाइ उडानको व्यवस्था गरिने पनि उनले बताए ।

Loading...