समुदायस्तरमा कोरोना : मोरङका नौ स्थानीय तहमा लकडाउन

विराटनगर, २२ साउन । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि मोरङका नौवटा स्थानीय तहले लकडाउन घोषणा गरेका छन् ।

कोरोना भाइरस संक्रमणको अवस्था विश्लेषण गरी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले आवश्यक कदम चाल्न सक्ने प्रदेश सरकारले निर्णय गरेसँगै नौवटा स्थानीय सरकारले लकडाउन घोषणा गरेका हुन् ।

१६ साउनमा विराटनगर महानगरपालिकाले संक्रमण बढेको भन्दै पहिलो पटक लकडाउन गरेको थियो । बिहीबारसम्म मोरङमा लकडाउन गर्ने स्थानीय तहको संख्या ९ पुगेको छ ।

मोरङको विराटनगर महानगरपालिकासँगै, रंगेली, रतुवामाई, सुनबर्षी, सुन्दरहरैचा, पथरीशनिश्चरे र बेलबारी नगरपालिकाले लकडाउन घोषणा गरेका छन् । त्यस्तै धनपालथान र कानेपोखरी गाउँपालिकाले पनि लकडाउन आह्वान गरेको छ ।

मोरङका जहदा र कटहरी गाउँपालिकाले लकडाउनको घोषणा नगरे पनि कार्यालय र गाउँपालिकाअन्र्तगतका वडा कार्यालय बन्द गरेका छन् । ग्रामथान, मिक्लाजुङ, उर्लाबारी, केराबारी, बुढीगंगा, लेटाङले लकडाउन गरेका छैनन् ।

छवटा स्थानीय तहरुले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको बताएका छन् ।

संघीय सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका गत चैत ११ गतेदेखि सुरु गरेको लकडाउन ७ साउनदेखि हटाएको थियो ।

७ साउनमा मोरङमा कोरोना संक्रमितको संख्या दुई सय ११ थियो । लकडाउन खुलेको दुई सातामा दुई सय १९ जना थपिएका छन् । मोरङमा बिहीबारसम्म संक्रमितको संख्या चार सय ३० पुगेको छ । संक्रमणबाट चारजनाले ज्यान गुमाइसकेका छन् ।

Loading...