प्रधानमन्त्री र गृहमन्त्रीमा संक्रमणको खतरा

संक्रमित मन्त्री सहभागी बैठकको प्रमुख अतिथि प्रम ओली

विराटनगर, २२ साउन । कोरोना भाइरसबाट संक्रमित भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव सहभागी भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको खुलेको छ ।

प्रहरी समायोजनासम्बन्धी काठमाडौमा भएको बैठकमा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापालगायत सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरु, गृहसचिव, सुरक्षा प्रमुखलगायत उच्च पदस्थहरु सहभागी रहेको खुलेको छ ।

संक्रमित मन्त्री यादवले बैठकपछि पनि उच्च पदस्थ व्यक्तिहरुसँग भेट गरेको बताइन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको थियो । संक्रमित मन्त्री यादवले उक्त बैठकको फोटो साउन १५ गते राति १२ः३२ मा आप्mनो फेसबुकमा पोस्ट गरेका छन् । उक्त फोटोमा प्रधानमन्त्री, गृहमन्त्री, अरु प्रदेशका मन्त्रीदेखि सुरक्षा निकायका उच्च पदस्थहरुलाई देख्न सकिन्छ ।

बैठकमा सहभागी हुँदा सामाजिक दुरी कायम गरी मास्क प्रयोग गरिएको मन्त्री यादवले बताएका छन् । तस्बिरमा नजिक देखिए पनि सबैजना सतर्क र सजग रहेको उनीको दावी छ ।

आफ्नै मन्त्रालयका दुुई कर्मचारीमा संक्रमण पुष्टि भएपछि उनले स्वाब परीक्षण गराएका थिए । काठमाडौको बैठकबाट साउन १८ गते फर्किएका उनले १९ गते पीसीआर परीक्षण गराएका थिए । बुधबार आएको परीक्षणका नतिजामा उनीमा संक्रमण देखिएको थियो ।

एउटै बैठकमा सहभागी भएका प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की पनि विराटनगर फर्किसकेका छन् । केही दिनअघि विराटनगर फर्किएका उनी मन्त्रालय तथा कोरोना रोकथामका लागि योजना र कार्यान्वयनको काममा व्यस्त छन् ।

सँगै बैठकमा रहेका मन्त्रीको रिपोर्ट पोजेटिभ आएपछि उनले पनि पीसीआर परीक्षणको तयारी गरिरहेका छन् । बिहीबार नभए शुक्रबार उनले आफ्नो स्वाब परीक्षणका लागि दिने बताए ।

मन्त्री यादवले रिपोर्ट पोजेटिभ आएपछि मन्त्री निवासमै आइसोलेसनमा छन् ।

उनले आफ्नो सम्पर्कमा आएका सबैजनाको जतिसक्दो चाँडो पीसीआर परीक्षण गराउनु पर्नेमा जोड दिएका छन् ।

Loading...