प्रहरी हिरासतमा २० महिने ‘अवोध बालक’

aa

विराटनगर, २२ साउन । मोरङ प्रहरीको हिरासतकक्षमा आमासँगै २० महिने अवोध बालक बसिरहेका छन् । आमा र बुबाको बदमासीका कारण तोतो बोली फुट्दै गरेका बालक जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा बसेका हुन् ।

हिरासतमा रहेका बालकसँग प्रहरी नजिकिन खोज्छन् । चकलेट र बिस्कुट पनि दिन्छन् । तर उनी प्रहरी देख्दा डराउँछन् । हिरासत कक्षमा आमासँगै न्यास्रो मानेर बसिरहेका छन् । घर जाउँ भन्दै बेलाबेला डाँको छाडेर रुन्छन् । सँगै रहेकी आमाले फकाउँदा पनि मान्दैनन् ।

उनी २० दिनदेखि आफ्नै आमासँग प्रहरी हिरासतमा बस्न बाध्य भएका हुन् । आमालाई किन हामी यहाँ बसेको भनेर बारम्बार सोध्ने गर्छन् । तर आमासँग उनलाई लिएर हिरासतमा बस्नुको कुनै विकल्प छैन ।

बाबु–आमाले गरेको बद्मासीको सजाय आमासँगै हिरासतमा बसेर अहिले ती अवोध बालकले भोग्नु परिरहेको छ ।

बाबु सञ्जयकुमार यादवले ताप्लेजुङ थुम्बेदिनकी २३ वर्षीया अनिषा खवाससँग बहुविवाह गरेपछि उनी जन्मिएका हुन् । विराटनगर महानगरपालिका–१४ घर भएका ४० वर्षीय सञ्जयको ताप्लेजुङकै याम्फूदिन प्रहरी चौकीमा हवल्दार पदमा कार्यरत रहँदा अनिषासँग प्रेमविवाह गरेका थिए ।

विहेपछि अनिषा पाँचथरको फिदिममा बस्न थालिन् । त्यहीबीचमा आदित्य जन्मिए । घरकी जेठी श्रीमती ३७ वर्षीय सरस्वतीदेवी यादवलाई भने यो कुरा थाहा थिएन । सञ्जय र सरस्वतीबीच २०६० साल वैशाख २९ गते मागी विवाह भएको थियो । जेठी श्रीमतीतर्फ तीन छोरी छन् ।

श्रीमान्ले बहुविवाह गरेर कान्छीबाट सन्तान पनि भइसकेको थाहा पाउनासाथ उनले इलाका प्रहरी कार्यालय रानीमा जाहेरी दिइन् ।

प्रहरीले सञ्जय र उनकी कान्छी पत्नी अनिषालाई साउन २ गते पक्राउ गरेर हिरासतमा राखेर बहुविवाह मुद्दामा म्याद थप गरेर अनुसन्धान गरेको छ ।

संरक्षणकर्ता नभएपछि र दूध खाने अवस्थाका २० महिने नाबालक अहिले अनुसन्धानको प्रक्रियामा रहेकी आमासँग जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा बसेका हुन् ।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का बाबु र आमालाई प्रतिवादी बनाएर मुद्दामा अनुसन्धान गर्न थालेपछि बालक आमासँगै हिरासतमा आएको बताउँछन् । खड्काले बाबु र आमाले बद्मासी गर्दा सानो उमेरमा नाबलकले हिरासतमा बिताउनु परेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ का निर्देशक मोहनदेव जोशी बालबालिकाको सर्वोत्तम हितलाई ख्याल गर्नु बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीले व्यवस्था गरेको बताउँछन् ।

राज्यसँग वैकल्पिक उपाय नहुँदा र बच्चाको पनि दूध चुस्न पाउने अधिकार हनन् हुने हुँदा नाबालक सन्तान भएकी आमालाई प्रतिवादी बनाउनु पर्ने कतिपय घटनामा यस्तै अवस्था आउने जोशीको भनाइ छ ।

Loading...