लकडाउनमा विचौलियाको मनोमानी : आकाशियो तरकारीको मूल्य, कोबी किलोको तीन सय

बजारमा अनगुमन शून्य

शिवहाङ राई

विराटनगर, २२ साउन । विराटनगर बजार क्षेत्रमा तरकारी तथा फलफूलको मूल्य आकाशिएको छ । चार महिना लामो लकडाउन खुलेसँगै बजारमा दैनिक उपभोग्य बस्तुको भाउ घटेको थियो । तर स्थानीय प्रशासनले पुनः लकडाउन गरेपछि तरकारीको मूल्य आकाशिएको हो ।

संक्रमण बढेपछि विराटनगर महानगरपालिकाले आह्वान गरेको लकडाउनको फाइदा उठाउँदै विचौलियाले तरकारीको मूल्य वृद्धि गरेका हुन् । समुदायमा संक्रमण देखिएपछि विराटनगर महानगरपालिकाले शुक्रबारयता दुई साता लामो लकडाउन गरेको छ ।

लकडाउनले बेखर्ची बनेका आम उपभोक्ता हरिया तरकारी र फलफूलमा मूल्य बढेपछि दोहोरो मारमा परेका छन् ।

विराटनगर–१२ की लीलादेवी तिम्सिना विराटनगरमा पुनः लकडाउन भएसँगै तरकारीको मूल्य अत्यधिक बढेको बताउँछिन् ।‘प्रतिकिलो ६० रुपैयाँ पर्ने टमाटरको मूल्य अहिले एक सय ५० सम्म पर्छ, पहिले ६० रुपैयाँमा आउने काउली (फूलकोबी)लाई अहिले तीन सय तिर्न पर्छ,’ तिम्सिना भन्छिन्, ‘मूल्य यसरी आकाशिएको छ कि, हामीजस्तो मध्यम आय भएका मानिसले तरकारी किनेर खान सक्ने अवस्था छैन ।’

मानिसले दैनिक उपभोग गर्ने तरकारी तथा फलफूलको मूल्यमा अत्याधिक वृद्धि भएको उनको गुनासो छ ।

टमाटर, काउली, खोर्सानी, परवल, बोडीको मूल्य तीन गुणासम्म वृद्धि भएको छ । आलु, हरिया साग, निगुरो, घिरौला, बैगुन र फर्सीको मूल्य पनि दोब्बर भएको छ । बन्दा र प्याजको मूल्य पनि आकाशिएको छ ।

फलफूलको मूल्यमा पनि व्यापारीले आफूखुसी मूल्यवृद्धि गराएका हुन् । तीन सय ८० पर्ने स्याउको मूल्य लकडाउन भएसँगै चार सय ८० पुगेको छ । अनार र आँपको मूल्य झण्डै दोब्बर भएको छ ।

प्रतिकोला दुई सय पर्ने अनारको मूल्य अहिले तीन सय २० पुगेको छ । यस्तै, एक सय रुपैयाँमा पाइने आँपको मूल्य दुई सय भएको छ । यीबाहेक केरा, नरिवल, नास्पति र भुइँकटहरको मूल्यमा पनि केही वृद्धि भएको छ ।

दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएकाले आफूहरुलाई धेरै समस्या पर्न थालेको विराटनगर–२ की भावना अर्याल बताउँछिन् । विद्यालयकी शिक्षिकासमेत रहेकी अर्यालले लकडाउनसँगै तरकारी, फलफूलको मूल्य ह्वातै बढेको बताइन् । अर्याल भन्छिन्, ‘घरमा साना केटाकेटी छन्, ताजा फलफूल र हरिया सागसब्जी खुवाउनै प¥यो, तर महँगीले आकाश छुन लागिसक्यो ।’ बजारमा मूल्यवृद्धि भइरहँदा समेत सम्बन्धित निकायले चासो नदिएको उनको गुनासो छ ।’

मूल्यवृद्धि स्वभाविक हो : व्यापारी

उपभोक्ताले मूल्यवृद्धि भएको गुनासो गरिरहँदा व्यापारी भने यस्तो अवस्थामा मूल्यवृद्धि स्वभाविक रहेको बताउँछन् । मुबारक फ्रुट स्टोरका सञ्चालक मुबारक अली खान भारतलगायत अन्य मुलुकबाट फलफूल आयात रोकिएकाले फलफूलको मूल्य आकाशिएको बताउँछन् ।

‘पहिलो कुरा बजारको मागअनुसार फलफूल नै छैन, दोस्रो यतिबेला बाहिरबाट नेपालमा फलफूल पनि निकै कम मात्रामा आइरहेको छ,’ मुबारक भन्छन्, ‘मागअनुसारको आपूर्ति नभएकाले मूल्यवृद्धि भएको हो । व्यापारीको खरिद मूल्य बढी भएकाले बिक्री मूल्य पनि बढेको हो, यसलाई स्वभाविक लिनुपर्छ ।’तरकारी व्यापारी सुनिलकुमार साह आफूहरुले तरकारी महँगो मूल्य हालेर खरिद गर्नु पर्ने बाध्यता रहेको भए पनि उपभोक्ताले भने व्यापारीको समस्या नबुझिदिने गरेको बताउँछन् । ‘हामीले पनि गोदाममा, खेतमा गएर तरकारी खरिद गर्दा बढी मूल्य तिर्नुपर्छ । तरकारी लिएर आयो, मानिसले महँगो भयो भनेर किन्न मान्दैनन,’ साह भन्छन्, ‘तरकारीको भाउ महँगो बनाएर बेच्न हाम्रो बाध्यता हो । नाफा आएन भने परिवार कसरी पाल्ने ?’

अस्वभाविक मूल्यवृद्धि भएको पाइएमा कारबाही गर्छाैं

व्यापारीको खरिद मूल्य र अहिलेको परिस्थितिको विश्लेषण गर्दा मूल्यवृद्धि स्वभाविक रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग विराटनगरका कार्यालय प्रमुख हिमालय बराल बताउँछन् । तर अस्वभाविक मूल्यवृद्धि गरेको पाइए कारबाही गर्ने उनले बताए ।

‘मौसमको कारण, भारतलगायत अन्य मुलुकबाट हुने आयातमा कमी भएको छ । किसानले क्षमताअनुरुप उत्पादन गर्न नसक्नुले बजारको मागभन्दा कम तरकारी, फलफूल उपलब्ध भएको स्थिति हो,’ प्रमुख बराल भन्छन्, ‘थोरै उत्पादन भएकाले वस्तुको मूल्यमा वृद्धि स्वभाविक हो तर खरिद मूल्यभन्दा दोब्बर, तेब्बर नाफा राखेर व्यापारीले बिक्री गरिरहेको अवस्था छ भने उनीहरुले कालोबजारी गरिरहेका हुन्, त्यस्ता व्यापारीलाई कारबाही हुन्छ ।’

लकडाउनमा पनि वाणिज्य कार्यालयले आफ्नो नियमित काम गरिरहेको र लिखित उजुरी आए आफूहरु व्यापारीलाई कारबाही गर्न सधैं तयार रहेको उनले बताए ।

महानगरले गरेको दुई साता लामो लकडाउनको अवधिमा बजार अनुगमन किन नभएको भन्ने प्रश्नमा भने प्रमुख बराल महानगरपालिकाको बजार अनुगमन समिति निस्कृय रहेको बताउँछन् ।

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय सरकारलाई बजार अनुगमन, सञ्चालन, व्यवस्थापन, बजारमा बिक्री हनुे सामानको मूल्य निर्धारण गर्न जिम्मेवार दिएकाले महानगरले अगुवाइ नगरेसम्म कार्यालयले केही गर्न सक्दैन,’ प्रमुख बराल भन्छन्, ‘कानुनले स्पष्टरुपमा निर्दिष्ट गरेको भए पनि महानगरपालिका र समितिले कार्यालयसँग आवश्यक सहकार्य नगरेकाले हाल बजार अनुगमन हुन सकिरहेको छैन ।’

बजार अनुगमन समितिसँगको सहकार्यमा राष्ट्रव्यापी लकडाउनको अवधिमा कानुनविपरीत व्यापार, व्यवसाय गरेका पसल, व्यवसाय र तिनका सञ्चाललाई कारबाहीको दायरामा ल्याएर १३ लाखभन्दा बढी जरिवाना असुलेको बरालले बताए ।

Loading...