युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा

एजेन्सी, २२ साउन । म्यानचेस्टर युनाइटेड युरोपको दोस्रो ठूलो फुटबल प्रतियोगिता युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा अष्ट्रियन क्लब लिन्जेर एथ्लेटिक स्पोर्ट्स क्लब (एलएएसके)माथि २–१ गोलको जित निकाल्दै समग्रमा ७-१ काे नतिजासहित युनाइटेडले अन्तिम आठमा स्थान बनाएको हो ।

युनाइटेडको मैदान ओल्ड ट्राफोल्डमा भएको खेलमा घरेलु टोलीलाई जिताउन जेसे लिंगार्ड र एन्थोनी मार्सियलले समान एक–एक गोल गरे । एलएएसकेका फिलिप विसिंगरले एक गोल गरे ।

खेलमा पाहुना टोलीले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५५औं मिनेटमा विसिंगरले गोल गर्दै एलएएसकेलाई अग्रता दिलाए ।

त्यसको दुई मिनेट नबित्दै लिंगार्डले गोल गर्दै युनाइटेडलाई बराबरीमा फर्काए । खेलको ८८औं मिनेटमा मार्सियलले गोल गरेपछि युनाइटेडले अन्तिम आठमा स्थान बनायो ।

जितसँगै युनाइटेडले समग्रमा ७–१ को जितसहित क्वार्टरफाइनलमा स्थान बनाएको हो । यसअघि पहिलो लेगको खेलमा युनाइटेडले ५–० को अग्रता बनाएको थियो ।

अब क्वार्टरफाइनल खेल १० अगस्टमा हुनेछ ।

Loading...