विद्यालय नखुले पनि सिकाइ निरन्तर

विराटनगर, २२ साउन । कोरोना भाइरस संक्रमण बढेर तत्काल विद्यालय खुल्न सक्ने अवस्था नदेखिए पनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।

हतारिएर विद्यालयमा बालबालिका बोलाउनुभन्दा सिकाइ निरन्तर गरेर उनीहरूको क्षमता तथा दक्षता अभिवृद्धि गर्नु नै समय सान्दर्भिक हुने सुझाव शिक्षा क्षेत्रका सरोकारवालाले दिनुभएको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापाले स्वास्थ्य सुरक्षाका कारण केही महिना अझै विद्यालय खोल्न नसकिए पनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्ने बताए । विद्यालय खुल्ने र विद्यार्थीमा संक्रमण हुने हो भने त्यसले सीधै समुदाय नै संक्रमित बनाउने उनको भनाइ छ ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले जुन विकल्प प्रयोग गरेर भए पनि विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिनुपर्ने सुझाव दिए । सके विद्यालय चलाउने नभए आधा समय कक्षा चलाउने र त्यो पनि नभए वैकल्पिक तथा अनलाइन विधिबाट कक्षा सञ्चालन गर्नुपर्ने विकल्प उनको सुझाव छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले कोरोना संक्रमणको अन्योलका कारण विद्यालय खुल्ने सयम यकिन नभए पनि उनीहरूको सिकाइ कार्यक्रमले भने निरन्तरता पाउने बताए ।
यसअघि सरकारले भदौ १ देखि विद्यार्थी भर्ना, तथ्यांक अभिलेखीकरण लगायतका शैक्षिक गतिविधि अगाडि बढाउने र जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्दै भदौ १५ बाट नियमित पठनपाठन सञ्चालन गर्ने तयारी गरेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...