आरती स्ट्रीप्सका कर्मचारीमा कोरोना, उद्योग सिल गर्न स्थानीय सरकारको आग्रह

विराटनगर, २१ साउन । मोरङको बुढीगंगा गाउँपालिका– १ मा रहेको आरती स्ट्रीप्समा कार्यरत दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएपछि स्थानीय सरकारले कम्पनीलाई शील गर्न पत्रचार गरेको छ ।

संक्रमित मजदुरहरूले उद्योगमा काम गरिरहेको र अन्य मजदुरसँग पनि घुलमिल भई संक्रमण समुदायस्तरमा फैलन सक्ने निष्कर्ष निकाल्दै गाउँपालिकाले उद्योग शील गर्न पत्रचार गरेको हो ।

आरती स्ट्रीप्सका प्रशासन प्रमुख दिवश नेपालले दुई मजदुरमा कोरोना संक्रमण पुष्टि भएसँगै सोमबारबाट उद्योग शील गरिएको बताए । संक्रमित दुवैलाई उद्योगले आफ्नै क्वारेन्टाइनमा राखेको बताए ।

प्रशासन प्रमुख नेपालले उद्योग शील भएको बताए पनि उद्योग नियमितरूपमा सञ्चालन भइरहेको बताइएको छ ।

‘मजदुर तथा कामदारको नियमित आवगमनमा कमी आएको छैन,’ एक कर्मचारीले भने, ‘उद्योगभित्र र बाहिर संंक्रमण फैलन सक्ने जोखिम बढेको छ ।’ तर प्रशासन प्रमुख नेपालले उद्योग सञ्चालनमा नरहेको बताए ।

Loading...