विराटनगरकी एक महिला : दुईवटा करणी मुद्दामा पीडित, उद्योगमा पीडक !

सहमतिमा सम्पर्क : विवादपछि बलात्कार

विराटनगर, २१ साउन । १५ कात्तिक २०७५ मा विराटनगर महानगरपालिका–४ की ३६ वर्षीय महिलामाथि जिल्ला प्रहरी कार्यालय मोरङमा जरवजस्ती करणी उद्योगको उजुरी पर्‍यो । महिलामाथि नै करणी उद्योगको उजुरी मोरङ प्रहरीका लागि नयाँ थियो ।

इटहरी सुनसरीकी युवतीलाई जवरजस्ती यौन कर्ममा लगाउन बाध्य बनाएको आरोपमा ती महिला, सुनसरी इनरुवा घर भइ विराटनगर बस्ने सन्तोष मेहतालाई प्रतिवादी बनाइएको थियो ।

प्रहरीले महिलालाई अनुसन्धान गरी दायर गरेको मुद्दामा २०७६ असार २ गते जिल्ला अदालतले सफाइ दियो । तर, ती महिला बलात्कृत भएको दाबीसहित २३ साउन २०७६ मा इलाका प्रहरी कार्यालय रंगेली पुगिन् । २०७५ चैत २६ गते आफू बलात्कृत भएको दाबी गर्दै पाँच महिनापछि जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गर्‍यो ।

महिलाको उजुरीपछि प्रहरीले नेपाल बंगलादेश बैंकका धनपालथान गाउँपालिका कर्सिया शाखा प्रमुख ४५ वर्षीय अमित बास्तोलालाई पक्राउ गर्‍यो ।

अमितमाथि बैंकबाट ऋण दिलाइदिन्छु भनेर पटक-पटक करणी गरेको आरोप छ । बलात्कार आरोप मुद्दाको पूर्पक्षका लागि बास्तोलमा थुनामा छन् । अदालतमा सो मुद्दा विचाराधीन छ ।

बास्तोला प्रकरणमा पीडित भनिएकी महिला असार अन्तिमसाता पुनः बलात्कारको उजुरी लिएर जिल्ला प्रहरी कार्यालय मोरङ पुगिन् । यो पटकको मुद्दाको प्रतिवदी पूर्वप्रहरी नायव निरीक्षक नयन श्रेष्ठ छन् । बलात्कारको उजुरी परेपछि प्रहरीले मुद्दा अनुसन्धान गरिरहेको छ ।

पछिल्लो तीन वर्षमा एक महिला यौनसँग जोडिएको तीन मुद्दा लिएर अदालत पुगेकी छन् । एक मुद्दामा पीडक बनेकी उनी दुई मुद्दामा पीडित बनेकी छन् ।

दुईवटा मुद्दामा विराटनगर–४ कञ्चनबारी ठेगाना उल्लेख गरेकी महिलाले बास्तोलाविरुद्धको मुद्दामा आफ्नो ठेगाना सुन्दरहरैंचा नगरपालिका-५ मा डेरागरी बस्ने उल्लेख गरेकी छन् ।


सहमतिमा सम्पर्क पछि लेनदेनको बार्गेनिङ

३६ वर्षीया महिलाका श्रीमान वैदेशिक रोजगारीमा छन् । दुई सन्तान र आमासहित विराटनगर–४ मा बस्छिन् । तर श्रीमानसँगको सम्बन्ध राम्रो छैन ।

दुई वर्षमा दुईवटा बलात्कारको उजुरी लिएर पुगेकी महिलाकाे उजुरी घटना भएको पाँच महिनापछि मात्र पुगेका छन् ।

प्रहरी स्रोतका अनुसार विराटनगर र धरानबाट सामाजिक सञ्जालबाट नजिकिने र नजिकिएपछि आर्थिक बार्गेनिङ गर्ने गिरोह सक्रिय छ । सो गिरोहले ती महिलालाई प्रयोग गरेको छ । सो गिरोहमा कानून जानेका पूर्वप्रहरी पनि छन् ।

नयन श्रेष्ठविरुद्ध परेको जाहेरीमा ती महिलाले ३ फागुनमा करणी गरेको दाबी गरेकी छन् । पटक-पटक बलात्कार भएको भन्दै पाँच महिनापछि पुगेकी महिलाको भूमिका शंकास्पद देखिएको बताउँदै प्रहरीले मुद्दा दर्ता गर्न मानेन ।

तर, प्रहरी प्रधान कार्यालय र महान्याधिवक्ताको कार्यालयबाट चासो व्यक्त भएपछि जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।

‘उजुरी आएपछि महिला जोडिएको अन्य घटना पनि अध्ययन गरेका छौं,’ उनले भने ‘अनुसन्धानपछि मुद्दा अदालतमा बुझाउछौं ।’

बास्तोलाको घटनामा पूर्वप्रहरी साक्षी

घर किन्नका लागि ऋण दिने बहानामा बास्तोलाले पटक पटक करणी गरेको ती महिलाको दाबी छ । महिलाको दाबीअनुसार अदालतमा बयानका लागि पूर्वप्रहरी कर्मचारी पनि पुगेका थिए ।

सो मुद्दामा ओम महत नाम गरेका व्यक्तिले महिलाको पक्षमा बयान दिएका छन् । आफूलाई पूर्वप्रहरी बताएका पुरुषले घरजग्गाको कारोबार गर्ने क्रममा जोडिएको बताएका छन् ।

तीनवटै घटनामा भिडियो

प्रहरी स्रोतका अनुसार जबरजस्तीकरणी उद्योग मुद्दामा ती महिलामाथि भिडियो बनाएको आरोप थियो ।

पीडितले दर्ता गराएको जाहेरीमा पनि भिडियो खिचिएको दाबी गरिएको छ । तर, प्रहरीले अनुसन्धान गर्दा भिडियो भेटेको छैन ।

अमित बास्तोला र नयन श्रेष्ठ प्रतिवादी भएको दुईवटा छुट्टाछुट्टै बलात्कारको मुद्दामा पनि महिलाले भिडियो बनाएर आफूलाई ब्लाकमेलिङ गरी पटक-पटक करणी गरेको दाबि गरेकी छन् ।

बास्तोलाको केसमा पनि प्रहरीले भिडियो भेट्न सकेन । नयन प्रतिवादी रहेको मुद्दामा महिलाले भिडियो देखाएर आफूलाई ब्लाकमेलिङ गरेको बताए पनि प्रहरीले प्रमाण फेला पारेको छैन् ।

आर्थिक बार्गेनिङ

जवरजस्ती करणी आरोप लगाएकी महिलालाई नयन श्रेष्ठले पटक-पटक गरी पाँच लाखभन्दा बढी रकम दिएको पारिवारिक स्राेतकाे दाबी छ ।

नयनसँग मोटरसाइकलमा यात्रा गर्दा सुन र पैसा हराएको दाबी गर्दै महिलाले नयनसँग पैसा मागेकी थिइन् । प्रहरी चौकी बखरीमा छलफल गर्दा ३ लाख २५ हजार नयन श्रेष्ठले पैसा दिएपछि घटना मिलेको थियो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार लकडाउनका क्रममा पनि श्रेष्ठमाथि पैसा दिन दबाव परेको थियो । पैसा नबुझाउँदा उनीमाथि गिरोहबाट पटकपटक धम्की आएको थियो । धम्कीपछि उनीविरुद्ध जवरजस्ती करणी उजुरी पर्‍यो । उजुरीमा श्रेष्ठ मात्र प्रतिवादी छैनन । उनका भाइ र श्रीमती पनि प्रतिवादी छन् । भाइ र श्रीमतीले भिडियाे बनाएर बार्गेनिङ गरेकाे आराेप छ ।

कानूनको गलत ब्याख्या भयो

कानून व्यावयायी बिनोद तिम्सिना मुलुकी अपराधसंहितामा रहेको व्यवस्थाको गलत ब्याख्या गर्दै महिलाले पुरुषहरूलाई फसाउने गरेका छन् ।

अपराध संहितामा घटना भएको एक वर्षपछि उजुरी दिनसक्ने व्यवस्था छ । महिलासँग जोडिएको केसमा अदालत र प्रहरी दुवैले संवेदनशील रूपमा लिने गरेको छन् ।

पछिल्लो समय कानूनको गलत व्याख्या गर्दै सहमतिमा सम्पर्क गर्ने र पछि करणीको उजुरी गर्ने घटना बढेको उनको दाबी छ ।

Loading...