भारतमा कोरोना नियन्त्रणमा नआएसम्म नेपालले सतर्कता अपनाउनुपर्छ : मन्त्री ढकाल

काठमाडौं, २१ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भारतमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआउँदासम्म नेपालमा संक्रमण फैलने जोखिम कायमै रहने बताएका छन् ।

मन्त्रालयले बुधबार काठमाडौँमा गरेको सञ्चारकर्मीहरूसँगको छलफलमा मन्त्री ढकालले भारतमा संक्रमण नियन्त्रणमा नआउँदासम्म नेपालले उच्च सतर्कता अपनाउनुपर्ने बताए ।

सरकारले संक्रमितको संख्या घट्दै गएपछि जनजीवन सहज बनाउन लकडाउन खुकुलो बनाउने निर्णय गरेको भए पनि सीमावर्ती भारतीय सहरमा संक्रमणको दर बढ्दै गएपछि नेपालमा पनि त्यसको प्रभाव परेको र पछिल्ला दिनमा संक्रमितको संख्या बढ्न थालेको बताए ।

मन्त्री ढकालले संक्रमण नियन्त्रणका लागि उच्च जोखिममा रहेका स्थानहरूमा पुनः लकडाउन गर्नुपर्ने भए पनि पहिले जस्तो एकैसाथ देशभरिको लकडाउन नहुने समेत स्पष्ट पारे ।

मन्त्री ढकालले जात्रा, पर्व र धार्मिक कार्यक्रममा मानिसहरू भेला हुने र जनस्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना नगर्ने प्रवृत्ति बढ्दै गए ठूलो दुर्घटना हुने सक्नेतर्फ सचेत हुन सबैसँग आग्रह समेत गरे ।

उनले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारका लागि मन्त्रालयले गरेको सम्पूर्ण खरिद प्रक्रिया तथा खर्चहरू पारदर्शी रहेको र आवश्यकताअनुसार सार्वजनिक गर्नसमेत तयार रहेको पनि बताए ।

Loading...