Rumpum Advertisement

भौतिक रुपमा सेवा प्रवाह बन्द गर्न बैंकलाई विराटनगर महानगरको आग्रह

Neuro
भौतिक रुपमा सेवा प्रवाह बन्द गर्न बैंकलाई विराटनगर महानगरको आग्रह

विराटनगर, २१ साउन । विराटनगर महानगरपालिकाले भौतिक रुपमा हुने सेवा प्रवाह बन्द गर्न बैंक तथा वित्तिय संस्थालाई आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा समुदायमा फैलिएको अवस्थालाई मध्यनजर गर्दै महानगरले ‘लकडाउन’ अवधिभर उच्च सावधानी अपनाउन आर्थिक कारोबार हुने बैंक तथा वित्तिय संस्थालाई आग्रह गरेको हो ।

संक्रमण नियन्त्रण एवं रोकथामका लागि साउन १६ गतेबाट महानगर क्षेत्रमा दुई साताका लागि ‘लकडाउन’ गरिएको छ ।

‘लकडाउन’मा पनि बैंक तथा वित्तिय संस्थामा सेवाग्राहीको भीडभाड भइरहेको पाइएकाले कोरोना संक्रमण थप फैलने सम्भावना बढी रहेका कारण भौतिक रुपमा हुने नगद कारोबार बन्द गर्न आग्रह गरिएको महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडाले बताए ।

उनले सर्वसाधारणलाई जोखिमको सम्भावनाबाट टाढै राख्न यस्तो निर्णय गर्दै लागू गर्न महानगरस्तरीय कोभिड संकट व्यवस्थापन समितिले बैंक तथा वित्तिय संस्थालाई आग्रह गरेको जनाए ।

भौतिक रुपमा हुने नगद कारोबारलाई बन्द गरेर एटीएम, स्मार्ट बैंकिङ लगायतका विद्युतीय माध्यमबाट सेवा प्रवाहलाई प्रवद्धन गर्न महानगरले आग्रह पनि गरेको छ ।