Rumpum

Rumpum Advertisement

जसले वनको भवनमा आगो लगाए …..

जसले वनको भवनमा आगो लगाए …..

विराटनगर, २० साउन । मोरङको कानेपोखरी गाउँपालिका–६ (साविकको वयरवन गाविस –८) स्थित ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत क्षेत्र नम्बर ३ को भवनमा अचानक आगो लाग्यो ।

घटना लगभग साढे ५ वर्षअघिको हो ।

आगोले कर्कतपाटको छानो भएको भवन, त्यहाँ रहेका कागजपत्र, फर्निचर र ४७ क्यूफिट सिसौको चिरान काठ जलेर ध्वस्त भयो ।

२०७१ साल फागुन १९ गते दिउँसो भएको घटनाले सबैलाई अचम्मित बनायो ।

तर अनुसन्धान गर्दै जाँदा वन उपभोक्ता समूहको भवनमा आगजनी गरेको पुष्टि भयो ।

आगजनीमा कानेपोखरी–६ का २४ वर्षीय सविरल राई, अनिष राई र अमर लिम्बूूको संलग्नता रहेको पाइयो ।

उनीहरुविरुद्ध प्रहरीले मुद्दा चलाए पनि फरार रहेका तीनै जनालाई पक्राउ परेका थिएनन् ।

वनको भवनमा आगजनी गरेर फरार बनेका मध्ये सविरल राईलाई इलाका प्रहरी कार्यालय पथरीको टोलीले पक्राउ गरेको छ ।

पथरीका डीएसपी दिलिप गिरीले फरार प्रतिवादीको सूचीमा रहेका उनलाई पक्राउ गरेर सोमबार अदालतमा पेस गरिएको जानकारी दिए ।

जिल्ला अदालत मोरङले २०७२ साल असार २३ गते घटनामा संलग्न तीनै जनालाई जनही तीन वर्ष छ महिना कैद सजायको फैसला गरिसकेको छ ।

कैद सजाय सुनाइए पनि घटनापछि फरार रहेकामध्ये एक जना घटना गराएको साढे पाँच वर्षपछि पक्राउ परेका हुन् ।

डीएसपी गिरीकाअनुसार त्यतिबेयला भएको घटनामा दुुई लाख २३ हजार पाँच सय रुपैयाँ बढीको क्षति भएको थियो ।

घटनामा संलग्न अनिष र अमर अझैसम्म फरार छन् ।

गिरीले उनीहरुको खोजी भइरहेको जानकारी दिए ।

प्रहरीले पक्राउ गरेर पेस गरेपछि अदालतले कैद सजाय भक्तानका लागि कारागार चलान गरेको छ ।