विराटनगर, १९ साउन । राजनीतिक प्रसंगमा अचेल प्रायःले सोध्ने एउटा प्रश्न छ– नेकपाका अध्यक्षद्वयको सम्बन्ध खासमा कस्तो हो ?
यसको उत्तर भने कोहीसँग छैन । कारण– दुई नेताबीचको सम्बन्धको उतार–चढावले वास्तविकता बुझ्नै गाह्रो छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ६ दिन सम्पर्कविहीन भए ।
त्यो संवादहीनता तोड्दै आइतबार तीन घण्टा छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा दुवैले पहिलाभन्दा वरिष्ठतम् सहयोगी पनि राखे ।
अर्थात्, ओलीले सुवास नेम्बाङ र दाहालले झलनाथ खनाल ।
तर छलफल भने ठाकठुकमै सुरु भयो, ठाकठुकमै सकियो । एउटा पदबाट राजीनामा दिनुपर्ने दाहालले जिकिर गरे ।
त्यसमा कुरै नगर्ने ओलीले अडान कायम राखे ।
छलफलपछि ब्रिफिङ सुनेका एक नेताका अनुसार ओली र दाहालले अघिपछिको जस्तै मन माझामाझ गरे ।
आपसका अभिव्यक्तिदेखि आरोप–प्रत्यारोपसम्मका सन्दर्भमा पुरानै शैलीमा छेडखान पनि गरे ।
पार्टी एकता जोगाउने, पार्टी कमिटीबाटै छलफल गरेर निचोडमा पुग्ने भन्नेमा समेत चर्चा गरे ।
तर, मिल्दा के–के विषयमा कसरी सहमति जुटाउने भन्नेमा भने दुवै पुरानै रटानमा अडिए ।
स्रोत भन्छ– ओली स्थायी समिति बैठक रोकेर सचिवालय बोलाउने मनस्थितिमा थिए ।
दाहाल भने अवरुद्ध स्थायी समिति बैठक कहिले बोलाउने भन्नेमै केन्द्रित देखिए । आजको अन्नपूर्ण पोस्टमा समाचार छ