प्रेमप्रसाद सञ्जेललाई कुटपिट गर्ने कर्मचारीमाथि अभद्र व्यवहार मुद्दा, जागिरबाट पनि निकालिए

विराटनगर,१८ साउन । उपसचिव प्रेमप्रसाद सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका कर्मचारी विरुद्ध मोरङ प्रहरीले अभद्र मुद्रामा म्याद थप गरेको छ ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा कुटपिट गरेको आरोपमा पक्राउ परेका दुई जना महिला कर्मचारी विरुद्ध अनुसन्धानका लागि म्याद थप गरेको हो ।

शनिबार विहान करिब ११ बजे कार्यकक्षमा सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइराला माथि अभद्र व्यावहार मुद्दामा पाँच दिन म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

जागिरबाट निकालिए

उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूलाई कार्यकक्षमा कुटपिट गर्ने कर्मचारीलाई कामबाट निकालेका छन् । करारमा कार्यरत कार्यालय सहयोगी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालालाई कामबाट निकालेको सञ्जेलले जानकारी दिए ।

शनिबार बिहान सञ्जेलमाथि कुटपिट भएपछि प्रहरीले मध्यरातसम्म दुबै पक्षसँग छलफल गरेको थियो । सो क्रममा सञ्जेलले ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गराउन खोजेको थियो । तर प्रहरीले लिन नमानेपछि अभद्र व्यावहारमा जाहेरी दर्ता गराएका थिए ।

कुटपिटमा संलग्न भएकाे आराेपमा पक्राउ परेका महिलाले पनि याैन दुर्व्यवहार गरेकाे आराेपमा जाहेरी दिने तयारी गरेका थिए । तर प्रहरीले उनीहरूकाे जाहेरी लिएकाे छैन् । कुटपिटमा संलग्न महिलाले कार्यलयमा पटक-पटक दुर्व्यवहार भएकाे बताउदै आएका छन् । तर महिलाकाे आराेप प्रमाणित हुने आधार नभएकाले उजुरी नलिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का कार्यालय प्रमुखलाई कुटपिट गरेपछि महिलाले दुव्यवहारको आरोप लगाएको बताए । ‘दुव्र्यवहार भएको भए कारवाहीका लागि कानुनी बाटाे थियो ।’ उनले भने ‘कार्यालय प्रमुखलाई कार्यकक्षमा कुटपिट गरेपछि आरोप लगाएको देखियो ।’

"म महिलामाथि हात उठाउदिन, उठाउने भए परिस्थिति अर्कै हुन्थ्याे ।" – प्रेम संजेल

भ्रष्टाचारविरोधी अभियान्ताको छवि बनाएका उप–सचिव सञ्जेल शनिबार कार्यालयमा कुटिएका हुन् ।सञ्जेललाई कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेका हुन् ।

Posted by Koshi Online on Saturday, August 1, 2020
Loading...