सीमवर्ती क्षेत्रमा गस्ती गएको प्रहरीकाे गाडी ताेडफाेड, दुईजना पक्राउ

विराटनगर, १८ साउन । विराटनगरको सीमवर्ती क्षेत्रमा गस्तीमा गएको प्रहरीको गाडी तोडफोड भएको छ ।

तस्करीको सामान नियन्त्रणका लागि पुगेको प्रहरीलाई अवरोध तस्करको समूहले प्रहरीको गाडी तोडफोड गरेको हो । गाडी तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१५ रानीबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर–१५ का २६ वर्षीय अनिल साह र २४ वर्षीय मुकेश देव रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

उनीहरु विरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन आइतबार म्याद थप गर्दै घटनाको अनुसन्धान अघि बढाइएको जानकारी राईले दिए ।

पक्राउ परेकाहरु लामो समयदेखि नेपाल–भारत सीमा क्षेत्रमा तस्करी धन्दा चलाउने युवाहरु रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य छ जना फरार रहेका कारण खोजी तीव्र बनाइएको जानकारी उनले दिए ।

सामान तस्करी भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिनलाई शनिबारराति विराटनगर–१५ को सुँडी बस्तीमा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाको नेत्रृत्वमा टोली पुगेको थियो ।

थापा नेतृत्वको प्रहरी टोलीलाई अवरोध गर्दै तस्कर समूहले ना १ झ १३४८ नम्बरको गाडीमाथि ढुंगामुडा गरेका थिए । उक्त समूहले ढुंगामुडा गर्दा गाडीको अगाडिको सिसा फुटेको छ ।

Loading...