दैनिक १८ हजार पीसीआर परीक्षण गर्ने क्षमता छ : मन्त्री ढकाल

काठमाडौ, १८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमतामा सरकारसँग रहेको बताएका छन् ।

सरकारले परिस्थितिलाई हेर्दै परीक्षणको दायरा बढाउने र त्यसको तयारीस्वरुप दैनिक १८ हजार परीक्षण गर्न सक्ने क्षमताको विकास गरेको मन्त्री ढकालले बताए । मन्त्री ढकालले सरकारले दैनिक १८ हजार जनासम्मको परीक्षण गर्न आवश्यक सबै सामग्रीलाई तयारी अवस्थामा राखेको बताए ।

उनले भने, ‘हामीसँग क्षमताको हिसाबले कुरा गर्दा १८ हजार प्लसमा हामी पुगेका छौं र यो १८ हजारको क्षमतामा हामी प्रतिदिन त्यसको रिपोर्ट दिन सक्छौं भन्नुको अर्थ सामग्री पनि त्यही भोलुममा चाहिन्छ भन्ने कुरालाई हामीले हेक्का राखेका छौं ।’

छ लाख जनसंख्याको पीसीआर परीक्षण गर्ने तयारी सरकारले गरिरहेकोसमेत मन्त्री ढकालले बताए । अहिलेसम्म तीन लाख ७० हजारभन्दा बढीको पीसीआर परीक्षण भइसकेको र त्यसलाई छ लाख पु¥याउने तयारीस्वरुप सरकार अगाडि बढेको बताए ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीले संसदमा बोल्दाखेरी नै जनसंख्याको दुई प्रतिशतलाई हामीले परीक्षणको दायरामा ल्याउँछौं भनेर भन्नुभएको छ । हामीले त्यसलाई छ लाखको संख्यामा बुझेका छौं र छ लाख पीसीआर प्रविधिबाट परीक्षण गर्ने सामथ्र्यसहित रहनुपर्छ भन्ने विषयको तयारीमा मन्त्रालय छ । अहिलेसम्म मलाई लाग्छ हामी तीन लाख ७० हजारभन्दा बढी नै छौं । यसले गर्दा छ लाखसम्म गराउनेखालको जोहो गरेर नै हामी बसेका छौं ।उनले परीक्षण नगरेका कारणले रिपोर्टहरु कम भएको भन्ने कुरा सत्य नभएको बताए । तर सबै ठाउँमा पुगेर परीक्षण गरिएको दावी नगरिएकोसमेत उनले बताए । सरकारले बनाएको मापदण्डअनुसार नै परीक्षण भएको उनको दावी छ ।
‘परीक्षण नगरेका कारणले अथवा परीक्षण कम गरेको कारणले रिपोर्ट कम भयो भन्ने खालको कुरा सत्य होइन । त्यो यथार्थमा आधारित छैन,’ उनले भने, ‘यसको अर्थ पुग्नुपर्ने सबैठाउँमा पुगेर हामीले गरेका छौं, यो मेरो दावी होइन । तर हामीले जे क्राइटेरिया बनाएका छौं, अहिलेसम्म त्यसका आधारमा हामीले गरेका छौं ।’

काठमाडौं उपत्यकामा संक्रमण फैलिएको सम्बन्धमा मन्त्री ढकालले सरकार नयाँ रणनीतिअनुसार नियन्त्रण गर्ने गरी अगाडि बढ्न लागेको बताउनुभयो । बाहिरि जिल्लाबाट उपत्यकाभित्र आउने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, जोरबिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाएर जानेलगायतका विषयलाई अगाडि बढाइने बताए । अहिले देखिएको संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउन सक्ने भएकाले सचेत रहन आग्रह गरे ।

सरकारले लागू गरेका नियम र मापदण्डहरुलाई पालना नगर्दा फेरि संक्रमणको स्थिति बढ्ने अवस्थामा देखिएको उनले बताए । लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको र संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढेको बताए । काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा संक्रमण देखिनुले यसलाई पुष्टि गरेको उनको भनाइ थियो ।

उनले संक्रमण बढी देखिएका जिल्लाहरुलई अनुगमन र मूल्याङ्कन गरी कडाइँ गर्ने र जिल्लास्तरीय लकडाउनलाई कार्यान्वयन गर्ने कुरामा सरकारले जोड दिएको बताए ।

मन्त्री ढकालले सीमा बाहिरबाट आउने व्यक्तिहरुलाई होल्डिङ क्वारेन्टाइनमा राख्ने र परीक्षण गराउने काम भएको र विदेशबाट प्लेनमा आउनेहरुलाई पनि पाँच दिनसम्म काठमाडौंमा राखेर परीक्षण गरेपछि मात्रै स्थानीय क्वारेन्टाइनमा पठाउने व्यवस्था गरिएकाले त्यो जोखिम कम रहेको बताए ।

Loading...